एक लाख बढी फ्यान र शाही परिवारद्वारा नर्वे फुटबल टोलीको भव्य स्वागत (तस्विरहरू)

एक लाख बढी फ्यान र शाही परिवारद्वारा नर्वे फुटबल टोलीको भव्य स्वागत (तस्विरहरू)

एजेन्सी : विश्वकप २०२६ मा ऐतिहासिक प्रदर्शन गरेर फर्किएको नर्वेली राष्ट्रिय फुटबल टोलीको स्वागतमा ओस्लोको सडकमा एक लाखभन्दा बढी मानिस उर्लिएका छन्।

क्वार्टरफाइनलमा इङ्गल्याण्डसँग अतिरिक्त समयमा पराजित भए पनि नर्वेली जनता र शाही परिवारले आफ्ना खेलाडीलाई विजेतासरह सम्मान दिएका छन्।

सोमबार ओस्लोस्थित रोयल प्यालेस बाहिर १ लाखभन्दा बढी समर्थकहरू आफ्ना हिरोहरूलाई स्वागत गर्न भेला भएका थिए। यो उत्सव कुनै उपाधि जितेको भन्दा कम थिएन।

राजकुमारको ड्रम र ‘भाइकिङ रो’
स्वागत कार्यक्रममा नर्वेली शाही परिवारको सक्रियता लोभलाग्दो देखियो। राजा हराल्डको नेतृत्वमा क्राउन प्रिन्स हाकोन, राजकुमारी इनग्रिड अलेक्जान्ड्रा र राजकुमार स्वेरे म्याग्नसले टोलीको स्वागत गरे।

क्राउन प्रिन्स हाकोन आफैँले ड्रम बजाएर ‘भाइकिङ रो’ (नर्वेको चर्चित खुसीयाली मनाउने शैली) को नेतृत्व गरे, जुन दृश्यले उपस्थित हजारौँ फ्यानहरूलाई उत्साहित बनाएको थियो।

राजकुमारी इनग्रिड अलेक्जान्ड्रा र राजकुमार स्वेरे म्याग्नसले अमेरिका पुगेर टोलीको हरेक खेल प्रत्यक्ष हेरेका थिए। दरबारको स्वागत समारोहमा राजकुमारी र स्टार खेलाडी अर्लिंग हालान्डबीचको ‘वार्म हग’ र आत्मियताले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ।

शाही परिवारमा क्राउन प्रिन्सेस मेट-मारिटको अनुपस्थिति खड्किएको थियो।

फोक्सो प्रत्यारोपण पछि स्वास्थ्य लाभ गरिरहेकी उनी टोलीको समर्थनमा अमेरिका पुगे पनि अहिले चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेकाले समारोहमा सहभागी भइनन्।

चर्चामा हालान्ड र उनको अनौठो ‘रकुन’
यो विश्वकपमा ७ गोल गरेर विश्वकै सुपरस्टार बनेका अर्लिंग हालान्ड मैदानबाहिर पनि चर्चाको केन्द्रमा रहे।

अमेरिकाबाट फर्कँदा उनले जहाजबाट ओर्लँदै गर्दा हातमा एउटा ‘ट्याक्सिडर्मी रकुन’ (जनावरको सुकेको मूर्ति) बोकेका थिए, जसले समर्थकहरूलाई हँसाएको थियो।

यद्यपि, अमेरिकाबाट उडान ढिलो भएका कारण हालान्ड र सान्डर बर्ज भने समारोहको अन्तिम चरणमा सहभागी हुन पाएनन्। उनीहरू आफ्नो क्लबको उडान समात्न हतारमै विमानस्थलतर्फ लाग्नुपरेको प्रशिक्षक स्टाले सोल्बाकेनले जानकारी दिए।

ऐतिहासिक यात्रा र विवाद
नर्वेले यस पटक ५ पटकको विश्वविजेता ब्राजिललाई राउण्ड अफ १६ मा हराउँदै इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा पुगेको थियो। क्वार्टरफाइनलमा इङ्गल्याण्डसँगको हार भने अझै विवादित छ।

प्रशिक्षक सोल्बाकेनले इङ्गल्याण्डको बराबरी गोल हुनुअघि बल मैदानमाथिको क्यामेराको तारमा ठोकिएको दाबी गरिरहेका छन्, यद्यपि फिफाले यसलाई अस्वीकार गरेको छ।

टोलीका कप्तान मार्टिन ओडेगार्डले यो स्वागत सोचेभन्दा धेरै माथि रहेको बताए।

उनले भने, ‘अमेरिकामा र यहाँ घर फर्कँदा हामीले पाएको माया अविश्वसनीय छ। यसले हामीलाई भविष्यमा अझै ठूलो उपलब्धि हासिल गर्न प्रेरणा दिएको छ।’

असार ३०, २०८३ मंगलबार १०:४०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।