सेमिफाइनलको गणित : तथ्याङ्कमा को बलियो, को कमजोर?

सेमिफाइनलको गणित : तथ्याङ्कमा को बलियो, को कमजोर?

एजेन्सी : विश्वकप फुटबल अब अन्तिम र निर्णायक मोडमा आइपुगेको छ। उपाधिका लागि अर्जेन्टिना, इङ्गल्याण्ड, फ्रान्स र स्पेनबीच कडा प्रतिस्पर्धा हुँदैछ।

अहिलेसम्म खेलेका ६ खेलका आधारमा कुन टोलीको पक्ष कस्तो छ?  तथ्याङ्कले के भन्छ?

अर्जेन्टिना गोलमा अगाडि, फ्रान्स अवसरमा
साविक विजेता अर्जेन्टिनाले प्रतियोगितामा सबैभन्दा धेरै १७ गोल गरेको छ। तर, समग्र आक्रमणको गुणस्तर हेर्दा फ्रान्स उत्कृष्ट देखिएको छ।

फ्रान्सले प्रत्येक ९० मिनेटमा सबैभन्दा धेरै सट प्रहार गरेको छ। यता, स्पेनले धेरै सट प्रहार गरे पनि गोल गर्ने मामलामा उनीहरू केही पछि छन्।

इङ्गल्याण्डले अरू टोलीको तुलनामा थोरै अवसर सिर्जना गरे पनि ह्यारी केन र जुड बेलिङ्घमको सटिक 'फिनिसिङ' का कारण धेरै गोल निकालेको छ।

स्पेनको डिफेन्स कडा
रक्षापंक्तिका हिसाबले स्पेन सबैभन्दा मजबुत देखिएको छ। उसले क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध मात्र पहिलो गोल खाएको थियो।

फ्रान्सले पनि ६ खेलमा मात्र २ गोल खाएर आफूलाई सुरक्षित राखेको छ।

अर्कोतर्फ, इङ्गल्याण्ड र अर्जेन्टिनाको डिफेन्स भने केही कमजोर देखिएको छ। यी दुवै टोलीले अहिलेसम्म समान ६-६ गोल खाइसकेका छन्।

स्पेन मेहेनती, अर्जेन्टिना सुस्त
मैदानमा दौडने, स्प्रिन्ट गर्ने र विपक्षीलाई दबाब दिने मामलामा स्पेनका खेलाडीहरू सबैभन्दा अगाडि छन्।

रोचक कुरा के छ भने, अर्जेन्टिनाले थप समयका कारण धेरै समय मैदानमा बिताए पनि, प्रति मिनेट दौडने र स्प्रिन्ट गर्ने मामलामा उनीहरू चार टोलीमध्ये सबैभन्दा पछि छन्।

अर्जेन्टिनाले आफ्नो हरेक खेलमा विपक्षीभन्दा कम दौडिएको तथ्याङ्क छ।

मेसीको पास र इङ्गल्याण्डको हेडर
स्पेनले यस विश्वकपमा सबैभन्दा धेरै ६६ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको छ।

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले सबैभन्दा धेरै १५ वटा ‘थ्रु बल’ पास दिएर आफ्नो जादु देखाइरहेका छन्।

यता, इङ्गल्याण्ड भने क्रस र हेडिङ मा निकै खतरनाक देखिएको छ। इङ्गल्याण्डले हेडिङबाटै ४ गोल गरिसकेको छ।

अर्जेन्टिनाको एरियल बल रोक्ने क्षमता कमजोर भएकाले इङ्गल्याण्डले यसको फाइदा उठाउन सक्ने देखिन्छ।

मंगलबार मध्यरातमा हुने फ्रान्सको खतरनाक आक्रमण र स्पेनको मजबुत डिफेन्सबीचको भिडन्त निकै रोचक हुनेछ।

त्यस्तै, बुधबार हुने इङ्गल्याण्ड र अर्जेन्टिनाको खेलमा दुवैको डिफेन्स केही कमजोर देखिएकाले धेरै गोल हुने सम्भावना छ।

असार ३०, २०८३ मंगलबार १०:१२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।