कुशल भुर्तेलको शतक र हेमन्तको घातक बलिङ, जर्सीविरुद्ध नेपालको ८१ रनको जित
काठमाडौं : ओपनर कुशल भुर्तेलको सानदार शतक तथा हेमन्त धामी र आरिफ शेखको उत्कृष्ट बलिङको मद्दतले नेपालले जर्सीविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा ८१ रनको सहज जित दर्ता गरेको छ।
जर्सीको ग्रानिभलमा सोमबार राति सम्पन्न खेलमा नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमा १६९ रनमै समेटियो।
लक्ष्य पछ्याउने क्रममा जर्सीको सुरुवात अत्यन्तै खराब रह्यो। नेपाली बलरहरू हाबी भएपछि जर्सीले १२औँ ओभरमा ३९ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो भने २०औँ ओभरमा ५९ रन पुग्दा ८ विकेट गुमाएर संकटमा फसेको थियो।
यद्यपि, नवौँ विकेटका लागि चार्ली ब्रेनन र डानियल बिरेलले ९४ रनको ठोस साझेदारी गर्दै जर्सीको इनिङ्स उकास्ने प्रयास गरे। ब्रेनन ८२ रनमा अविजित रहे पनि टोलीलाई जित दिलाउन सकेनन्। बिरेलले ४१ रनको योगदान दिए।
नेपालका लागि युवा तीव्र गतिका बलर हेमन्त धामीले घातक बलिङ गर्दै ७ ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए। त्यस्तै, कसिलो बलिङ गरेका आरिफ शेखले ५ ओभरमा मात्र ९ रन दिएर ३ विकेट झारे। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २५० रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। नेपालको जितको आधार ओपनर कुशल भुर्तेलले तयार पारे। उनले ११७ बलमा १३ चौकाको मद्दतले १०५ रनको शतकीय इनिङ्स खेले।
मध्यक्रममा भीम सार्कीले ३९ रनको योगदान दिए। एक समय २९औँ ओभरमा १४८-१ को बलियो स्थितिमा रहेको नेपालको ब्याटिङ अन्तिम ओभरहरूमा भने केही धर्मराएको थियो।
३१औँ ओभरमा वर्षाले खेल केही बेर रोकिए पनि ओभर भने घटाइएको थिएन। ३५औं ओभरमा १७२-२ को स्थितिबाट नेपालले लगातार विकेट गुमाउँदा विशाल योगफल बनाउने अवसर गुमाएको थियो।
जर्सीका डानियल बिरेल, बेन्जामिन वार्ड र निक ग्रिनवुडले समान २-२ विकेट लिए।
नेपालले जर्सीसँग बुधबार दोस्रो अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान गर्नेछ, जहाँ नामिबियासहितको सम्मिलित आइसिसी विश्वकप लिग-२ को त्रिदेशीय शृङ्खला खेल्ने तालिका रहेको छ।
असार ३०, २०८३ मंगलबार ०९:१६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।