अर्जेन्टिनासँग भिड्नुअघि ह्यारी केन- बाहिरबाट टोली फुटाउने प्रयास भयो तर हामी एकजुट छौँ
एजेन्सी : विश्वकप फुटबलको सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनासँग भिड्नुअघि इङ्गल्याण्डका कप्तान ह्यारी केनले आफ्नो टोली पूर्ण रूपमा एकजुट रहेको बताएका छन्।
प्रशिक्षक थोमस टुचेल र खेलाडी जुड बेलिङ्घमबीच मतभेद रहेको चर्चा चलिरहँदा कप्तान केनले टोलीभित्र कुनै विभाजन नरहेको स्पष्ट पारेका हुन्।
शनिबार नर्वेलाई २-१ ले हराउँदै इङ्गल्याण्ड सेमिफाइनलमा पुगेको थियो। उक्त खेलपछि प्रशिक्षक टुचेलले आफ्नो टोलीको प्रदर्शनप्रति असन्तुष्टि जनाउँदै ‘टोली भाग्यले मात्र जितेको’ बताएका थिए।
प्रशिक्षकको यस्तो टिप्पणीबारे सोधिएको प्रश्नमा मिडफिल्डर जुड बेलिङ्घमले खासै वास्ता नगरेको शैलीमा जवाफ दिएका थिए। यसैलाई लिएर सञ्चारमाध्यममा टोलीभित्र फाटो आएको चर्चा सुरु भएको थियो।
तर, कप्तान केनले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘हामी भर्खरै एउटा ठूलो युद्ध (खेल) जितेर मैदान बाहिर आएका थियौँ। खेल सकिएको पाँच मिनेटमै सोधिएको प्रश्नमा जुडले के भनोस् भन्ने अपेक्षा गरिन्छ? बाहिरबाट टोलीलाई फुटाउने प्रयास भए पनि हामी खेलाडी, प्रशिक्षक र स्टाफहरू सबै एकजुट छौँ।’
बुधबार हुने सेमिफाइनल खेलमा इङ्गल्याण्डले महान् खेलाडी लियोनेल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनाको सामना गर्दैछ। इङ्गल्याण्डका डिफेन्डर निको ओ'रेलीले मेसीविरुद्ध खेल्नुलाई ‘जीवनकै एक महत्त्वपूर्ण अवसर’ भनेका छन्।
उनले भने, ‘मेसी फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन्, उनीविरुद्ध खेल्न म निकै उत्साहित छु।’
३९ वर्षीय मेसीले यस विश्वकपमा अहिलेसम्म ८ गोल गरिसकेका छन् र उनी विश्वकप इतिहासमै सबैभन्दा धेरै (२१ गोल) गर्ने खेलाडी बनेका छन्।
इङ्गल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले मेसी खतरनाक भए पनि अर्जेन्टिनाको पूरै टोली उत्कृष्ट रहेकाले सबै खेलाडीसँग सतर्क रहनुपर्ने बताएका छन्।
यो खेलको विजेताले आइतबार हुने फाइनलमा फ्रान्स वा स्पेनमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनल खेल मंगलबार फ्रान्स र स्पेनबीच हुँदैछ।
असार ३०, २०८३ मंगलबार ०८:१०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।