लिग-२ को तयारीका लागि १६ वर्षपछि जर्सीसँग एकदिवसीय क्रिकेट खेल्दै नेपाल
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ को पूर्वतयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग पहिलो एकदिवसीय अभ्यास खेल खेल्दैछ।
जर्सीको ग्रेनभिल क्रिकेट ग्राउन्डमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।
नेपाल र जर्सीबीच लामो समयपछि एकदिवसीय फर्म्याटमा प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् २०१० मा भएको डिभिजन-५ अन्तर्गत यी दुई टोलीले एकदिवसीय खेल खेलेका थिए।
त्यस्तै, सन् २०१५ मा भएको टी-२० विश्वकप छनोटमा पनि नेपाल र जर्सी आमने-सामने भएका थिए।
सन् २०१५ मा खेलेका दुवै टोलीका केही अनुभवी खेलाडीहरू यसपटक पनि मैदानमा देखिनेछन्।
नेपालबाट तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसी टोलीमा छन् भने जर्सीका तर्फबाट चार्ल्स पर्चार्ड र जोन्टी जेनर खेल्दैछन्।
जर्सीको टोलीमा काउन्टी क्रिकेटको अनुभव बटुलेका ट्राइब दाजुभाइ- असा ट्राइब र ज्याक ट्राइबको उपस्थिति पनि सशक्त रहने देखिएको छ।
नेपालले जर्सीसँग बुधबार दोस्रो एकदिवसीय खेल खेल्ने तालिका छ। जर्सीको भ्रमण सकेपछि नेपाली टोली सिधै नेदरल्यान्ड्स जानेछ। त्यहाँ नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबिया सम्मिलित लिग-२ को महत्वपूर्ण त्रिदेशीय शृङ्खला खेल्नेछ।
असार २९, २०८३ सोमबार ११:४३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।