आफ्नै खेलाडीबाट असन्तुष्ट इङ्गल्याण्डका प्रशिक्षक, व्यक्तिगत प्रदर्शनले सेमिफाइनल पुगेको दाबी

आफ्नै खेलाडीबाट असन्तुष्ट इङ्गल्याण्डका प्रशिक्षक, व्यक्तिगत प्रदर्शनले सेमिफाइनल पुगेको दाबी

एजेन्सी : विश्वकपको क्वार्टरफाइनलमा नर्वेलाई हराउँदै इङ्गल्याण्ड सेमिफाइनलमा पुगे पनि प्रशिक्षक थोमस टुचेल भने टोलीको प्रदर्शनबाट सन्तुष्ट देखिएका छैनन्।

खेल जितेर अन्तिम चारमा पुग्दा पनि टुचेलले आफ्ना खेलाडीहरूको खेल शैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।

नर्वे विरुद्धको जितपछि प्रशिक्षक टुचेलले भने, ‘हामीले आफैँलाई निकै कठिन अवस्थामा पुर्यायौँ। नतिजा उत्कृष्ट छ, तर म प्रदर्शनबाट खुसी छैन।’

उनले टोलीले धेरै प्राविधिक गल्ती गरेको, खेल सुस्त भएको र सोचेजस्तो तालमेल नमिल्दा खेल लथालिङ्ग देखिएको बताए।

टुचेलले इङ्गल्याण्डलाई एक विशेष शैलीमा खेलाउन खोजिरहेका छन्।

उनको योजना बल सधैँ आफ्नो नियन्त्रणमा राख्ने, छोटा-छोटा पासहरू खेलेर विपक्षी टोलीलाई आफ्नो नजिक तान्ने र त्यसपछि खाली भएको ठाउँबाट छिटो आक्रमण गर्ने अनि मैदानको छेउबाट आक्रमण बुन्ने थियो।

तर, नर्वे विरुद्धको खेलमा दोस्रो हाफमा इङ्गल्याण्डको बल पोजिसन ६८ प्रतिशतबाट घटेर ४४ प्रतिशतमा झरेको थियो, जसले टुचेललाई चिन्तित बनाएको छ।

प्रशिक्षकको रणनीति मैदानमा पूर्ण रूपमा लागू हुन नसके पनि इङ्गल्याण्डले व्यक्तिगत प्रतिभाको भरमा खेल जितिरहेको छ। जुड बेलिङ्घमको गोल गर्ने क्षमता र सही समयमा सही ठाउँमा पुग्ने खुबीले इङ्गल्याण्डलाई जोगाएको छ।

डेक्लान राइस र इलियट एन्डरसनले बललाई अगाडि बढाउने जुन क्षमता देखाए, त्यसले विपक्षीको रक्षापङ्क्तिलाई छिन्नभिन्न पारेको छ।

बेलिङ्घम आफैँ पनि भन्छन्, ‘फुटबल प्राविधिक र रणनीतिक मात्र होइन, मानसिक क्षमता र कठिन परिस्थितिलाई सम्हाल्ने कला पनि हो।’

सेमिफाइनलमा इङ्गल्याण्डले बलियो अर्जेन्टिनाको सामना गर्नेछ। अर्जेन्टिनाको रक्षापङ्क्ति मैदानको छेउमा केही कमजोर देखिएकाले टुचेलले अबको खेलमा मैदानको कुनाबाट आक्रमण गर्ने रणनीतिलाई थप मजबुत बनाउने प्रयास गर्नेछन्।

नतिजाले इङ्गल्याण्डलाई सेमिफाइनलमा पुर्याए पनि विश्वविजेता बन्नका लागि टुचेलले भनेझैँ टोलीले आफ्नो खेलको स्तर अझै सुधार्न आवश्यक देखिन्छ।

असार २९, २०८३ सोमबार १०:३४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।