विश्वकप फुटबलमा अब ६४ टोली? फिफा अध्यक्षद्वारा नयाँ योजनाको समीक्षा गर्ने घोषणा

विश्वकप फुटबलमा अब ६४ टोली? फिफा अध्यक्षद्वारा नयाँ योजनाको समीक्षा गर्ने घोषणा

एजेन्सी : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फुटबलमा सहभागी टोलीको सङ्ख्या बढाएर ६४ पुर्याउने योजनामाथि छलफल सुरु हुने संकेत दिएका छन्। सन् २०२६ को विश्वकपपछि यो विषयमा औपचारिक मूल्याङ्कन गरिने उनको भनाइ छ।

सन् २०२६ को विश्वकपदेखि नै टोलीको सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्याइएको छ। तर, इन्फान्टिनोले विश्वकपलाई ‘सम्पूर्ण विश्वको साझा उत्सव’ बनाउन थप विस्तार आवश्यक रहेको तर्क गरेका छन्।

स्वीस सञ्चारमाध्यम ‘ब्लु स्पोर्ट्स’सँग कुरा गर्दै इन्फान्टिनोले भने, ‘विश्वकप केवल युरोप र दक्षिण अमेरिकाका लागि मात्र होइन, यो पूरै विश्वका लागि हुनुपर्छ। हरेक राष्ट्रले विश्वकप खेल्ने सपना देख्न पाउनुपर्छ।’

उनका अनुसार साना देशहरूलाई अवसर नदिने हो भने उनीहरूमा फुटबलको स्तर सुधार्ने उत्साह बाँकी रहँदैन। ४८ टोलीको अवधारणा सफल भएको उदाहरण दिँदै उनले अफ्रिकी राष्ट्रहरूको प्रगतिले यसलाई पुष्टि गरेको बताए।

फिफा अध्यक्ष विस्तारको पक्षमा उभिए पनि फुटबलका अन्य शक्तिशाली निकायहरूले भने यसको विरोध गरेका छन्। युरोपेली फुटबल महासंघका अध्यक्ष अलेक्जेन्डर सेफेरिनले ६४ टोलीको प्रस्तावलाई ‘खराब विचार’ भन्दै यसले छनोट प्रक्रिया र प्रतियोगिताको स्तर बिगार्ने दाबी गरेका छन्।

त्यस्तै, एसियाली फुटबल महासंघका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले टोली सङ्ख्या धेरै हुँदा भद्रगोल निम्तिने चेतावनी दिए। उत्तर र मध्य अमेरिकाका फुटबल प्रमुखले पनि यसले फुटबलको समग्र पारिस्थितिक प्रणालीमा क्षति पुर्याउने धारणा राखेका छन्।

विश्वकपमा टोलीको सङ्ख्या बढाउँदा आयोजना गर्ने देशका लागि ठूलो चुनौती थपिने देखिन्छ। यदि ६४ टोली सहभागी भएमा खेल सङ्ख्या १२८ पुग्नेछ। सन् २०२६ को विश्वकप तीन देश (अमेरिका, क्यानडा र मेक्सिको) ले संयुक्त रूपमा आयोजना गरे भने सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा आयोजना गर्ने तयारी छ।

यति ठूलो प्रतियोगिता आयोजना गर्न एउटै देशका लागि असम्भव जस्तै हुनेछ, जसका कारण भविष्यमा धेरै देशहरू मिलेर आयोजना गर्नुपर्ने बाध्यता रहनेछ।

६४ टोलीको विश्वकप हुँदा फिफाका २११ सदस्य राष्ट्रमध्ये करिब एक-तिहाइले खेल्ने मौका पाउनेछन्। यसबाट फिफालाई ठूलो मात्रामा राजस्व प्राप्त हुनेछ, जुन पछि सदस्य राष्ट्रहरूलाई नै वितरण गरिन्छ।

धेरै देशलाई सहभागी गराउने योजनालाई इन्फान्टिनोको राजनीतिक एजेन्डाका रूपमा पनि हेरिएको छ, जसले साना राष्ट्रहरूको भोट सुरक्षित गर्न मद्दत पुर्याउँछ।

अहिले नै कुनै ठोस निर्णय नभए पनि सन् २०२६ को विश्वकपको सफलतापछि फिफाले ६४ टोलीको प्रस्तावमाथि गम्भीरतापूर्वक छलफल गर्ने निश्चित छ ।

असार २९, २०८३ सोमबार ०७:४४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।