अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार
काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तको नेतृत्वमा उनको शल्यक्रिया गरिएको हो।
स्वास्थ्यमा अचानक समस्या देखिएपछि केही दिनअघि अस्पताल भर्ना भएकी निरौला हाल सोही अस्पतालमा उपचाररत छिन्।
निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्।
गिरीका अनुसार एउटा चलचित्रको छायांकन चलिरहेका बेला दीपाश्रीलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो। रोग पत्ता लागेसँगै केही समय निर्माण टोली अन्योलमा परेको र चिकित्सकको सल्लाहबमोजिम तत्काल शल्यक्रिया गर्ने निर्णय लिइएको थियो।
उनले प्रारम्भिक चरणमा उपचारका लागि भारत जानुपर्ने सुझावहरू आए पनि अन्ततः नेपालमै वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तको नेतृत्वमा शल्यक्रिया गर्ने निर्णय गरिएको बताएका छन्।
उनले लेखेका छन्, ‘यो साता हाम्रो लागि निक्कै चुनौतीपूर्ण र कठिन समय रह्यो! सुटिगंको बिचमा दीपाजीलाई ब्रेन ट्यूमर भएको पत्ता लाग्यो। त्यसपछि हामी अन्यौलमा पर्यौ, तुरून्त शल्यक्रिया गर्नुपर्ने भयो! भारत जाने सल्लाह पाइयो। तर अन्त्यमा नेपालकै अनुभवी डाक्टर बसन्त पन्तद्दारा शल्यक्रिया गर्ने निर्णय भयो! भगवानको आशीर्बादले शल्यक्रिया सफलतापूर्बक सम्पन्न भयो। हाल उहाँ आइसियूबाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ।’
दीपकराज गिरीले दीपाश्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण दर्शक, शुभेच्छुक तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीप्रति विशेष आभार प्रकट गरेका छन्।
असार २८, २०८३ आइतबार १६:५९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।