मैदानमै रेफ्रीसँग जंगिए मेस्सी, भने– 'म सँग राम्रोसँग बोल, अपमान नगर'
एजेन्सी : फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
कान्सस सिटी स्टेडियममा भएको अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गरेको हो। निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा अर्जेन्टिनाले लगातार दुई गोल गर्दै बाजी मार्यो।
तर, यो खेल फुटबल रणनीतिमा मात्र सीमित रहेन। मैदानभित्रको उच्च तनाव, रेफ्रीको विवादास्पद निर्णय र कप्तान लियोनेल मेस्सीको आक्रोशका कारण पनि चर्चामा रह्यो।
यस विश्वकप प्रतियोगितामा पहिलो पटक कप्तान लियोनेल मेस्सी गोल गर्न असफल रहे। स्विस डिफेन्डरहरूले उनको गोल गर्ने हरेक प्रयासलाई निस्तेज पारेपछि मेस्सी खेलभरि नै निकै हतास देखिएका थिए। यही तनाव खेलको पहिलो हाफमै मैदानमा पोखियो।
सधैं शान्त देखिने अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले समेत आफ्नो रिस नियन्त्रण गर्न सकेनन्। खेलको यही भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। उक्त भिडियोमा मेस्सी पोर्चुगिज रेफ्री जोआओ पिनहेरोसँग भनाभन गरिरहेका देखिन्छन्।
के भएको थियो त?
खेलको पहिलो हाफमा स्विट्जरल्याण्ड फ्री-किक प्रहार गर्ने गर्ने तयारीमा थियो। अर्जेन्टिनाको डिफेन्सिभ वालमा उभिएका मेस्सीलाई पोर्चुगिज रेफ्री पिनहेरोले नियम अनुसार पछाडि सर्न निर्देशन दिए। तर, रेफ्रीले निर्देशन दिँदा प्रयोग गरेको शैली र टोन मेस्सीलाई मन परेन।
आफूभन्दा निकै आक्रामक बनेका रेफ्रीलाई आठ पटकका ब्यालोन डी'ओर विजेता मेस्सीले हात हल्लाउँदै जवाफ फर्काए। मेस्सीले रेफ्रीलाई भने, "मसँग राम्रोसँग कुरा गर। मलाई अपमान नगर। म तिमीसँग सम्मानपूर्वक कुरा गरिरहेको छु र म पनि त्यही सम्मानको अपेक्षा गर्छु।"
यस खेलमा मेस्सीले गोल गर्न नसके पनि उनी २१ गोलसहित विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको रूपमा शीर्ष स्थानमा छन्। जारी विश्वकपमा ६ खेल खेल्दै मेस्सीले ८ गोल गरिसकेका छन् र उनी फ्रान्सका किलियन एम्बाप्पेसँगै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्।
स्विट्जरल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको अर्जेन्टिनाले अब जुलाई १६ मा एटलान्टामा इंग्ल्याण्डको सामना गर्नेछ।
असार २८, २०८३ आइतबार १६:४५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।