एम्बोलोलाई किन दिइयो रातो कार्ड?

एम्बोलोलाई किन दिइयो रातो कार्ड?

एजेन्सी : विश्वकप फुटबलको इतिहासमा पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) मार्फत ‘गलत पहिचान’ सम्बन्धी निर्णय सच्याइएको छ। जसका कारण स्विट्जरल्याण्डका फरवार्ड ब्रिल एम्बोलोले रातो कार्डसहित मैदान छाड्नुपर्यो।

शनिबार राति भएको अर्जेन्टिना र स्विट्जरल्याण्डबीचको रोमाञ्चक क्वार्टरफाइनल खेलमा एम्बोलोले पाएको रातो कार्ड नै खेलको मुख्य 'टर्निङ प्वाइन्ट' बन्यो। खेलको ७२औँ मिनेटमा एम्बोलो बाहिरिएपछि १० खेलाडीमा सीमित स्विट्जरल्याण्ड अतिरिक्त समयमा पराजित हुँदै विश्वकपबाट बाहिरिन पुग्यो।

कसरी भयो खेलमा 'ट्विस्ट'?

खेलको ७१औँ मिनेटमा अर्जेन्टिनाका लियान्द्रो परेडेसले एम्बोलोमाथि फाउल गरेको भन्दै अन-फिल्ड रेफ्री जोआओ पेड्रो सिल्भा पिनहेरोले परेडेसलाई पहेँलो कार्ड देखाएका थिए। तर, यो निर्णयमा शंका लागेपछि भीएआरले उक्त घटनाको पुनः जाँच गर्यो।

रीभ्युका क्रममा एम्बोलोले परेडेसको ट्याकलमा जानाजानी 'डाइभ' हानेर (फाउलको नाटक गरेर) रेफ्रीलाई भ्रममा पारेको देखियो। रिप्ले हेरेपछि रेफ्री पिनहेरोले आफ्नो निर्णय उल्ट्याउँदै परेडेसको पहेँलो कार्ड रद्द गरे र रेफ्रीलाई झुक्याएको भन्दै एम्बोलोलाई नै पहेँलो कार्ड थमाइदिए। खेलमा पहिले नै एउटा पहेँलो कार्ड पाइसकेका एम्बोलोको दोस्रो पहेंलो भएकाले उनी रातो कार्डसहित मैदानबाट बाहिरिए। मैदानबाट बाहिरिन बाध्य भए।

निर्णय सार्वजनिक भएपछि स्विट्जरल्याण्डका खेलाडी र बेन्चमा रहेका अफिसियलहरूले रेफ्रीसँग कडा आपत्ति जनाएका थिए।

स्विट्जरल्यान्डका मुख्य प्रशिक्षक मुराट याकिनले निर्णयप्रति कडा असन्तुष्टि जनाए। ‘पहेंलो कार्ड देखाउनुपर्ने कुनै कारण नै थिएन। त्यो सामान्य अवस्था थियो, खेललाई अघि बढ्न दिनुपर्थ्यो।’ उनले थपे ‘स्वीकार्य हुन नसक्ने एउटा नियमका कारण हामी सजायमा पर्यौँ । यो नियम मलै बुझ्नै सकेको छैन्। भिएआरले अनावश्यक हस्तक्षेप गर्योर, जसले हामीलाई निकै पीडा दियो। यस्तो नियमको फुटबलसँग कुनै सम्बन्ध छैन।’ उनले थपे ‘यसले हाम्रो खेल नै बिगारिदियो। हामी निर्णय स्वीकार गर्छौं, तर यसरी हार्नु अत्यन्त पीडादायी हो।’

तर, खेलविज्ञ र तटस्थ दर्शकहरूले भने भीएआरको यो निर्णय पूर्ण रूपमा सही भएको बताएका छन्। मैदानबाट बाहिरिँदै गर्दा २९ वर्षीय फरवार्ड एम्बोलो निकै भावुक बन्दै रोएका थिए र उनलाई सहकर्मीहरूले सान्त्वना दिएका थिए।

के हो 'गलत पहिचान' को नियम?

फुटबलको नियम बनाउने अन्तर्राष्ट्रिय निकाय 'आईएफएबी' का अनुसार, जब रेफ्रीले मैदानमा गल्ती गर्ने वास्तविक खेलाडीको सट्टा अर्कै खेलाडीलाई दण्डित गर्छन्, त्यसलाई 'गलत पहिचान' भनिन्छ। नयाँ भीएआर नियमले यस्ता गम्भीर गल्तीहरूलाई सच्याउने अधिकार दिएको छ, जसको प्रयोग यस पटक विश्वकपमा पहिलो पटक भयो।

असार २८, २०८३ आइतबार १४:५६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।