बेल्जियमको ‘गोल्डेन जेनेरेसन’को नमीठो बिदाइ

बेल्जियमको ‘गोल्डेन जेनेरेसन’को नमीठो बिदाइ
बेल्जियमका लागि १२४ खेल खेलेका केभिन डे ब्रुयन।

एजेन्सी : फुटबलमा सोचे जस्तो सुखद बिदाइ विरलै पाइन्छ। बेल्जियमको फुटबल इतिहासकै सबैभन्दा प्रतिभावान मानिएको ‘गोल्डेन जेनेरेसन’का लागि पनि विश्वकपको यात्रा एउटा नमीठो भुल र आँशुका साथ टुङ्गियो।

गएराति स्पेनसँग २-१ ले पराजित भएसँगै बेल्जियमका चार मुख्य हस्तीहरू- थिबाउट कोर्टुवा, रोमेलु लुकाकु, केभिन डी ब्रुयेन र एक्सेल विट्सलको विश्वकप जित्ने अन्तिम सपना चकनाचुर भयो।

सन् २०१४ को ब्राजिल विश्वकपदेखि बेल्जियमको टोली सम्हाल्दै आएका यी खेलाडीहरूका लागि यो सम्भवतः अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता थियो।

एउटा गल्ती र अधुरो सपना
खेलको ७१ औं मिनेटमा घाइते भएर मैदान बाहिरिएका मुख्य गोलकिपर थिबाउट कोर्टुवाका लागि यो हार झनै पीडादायी रह्यो।

उनले बेन्चमा बसेर आफ्नै उत्तराधिकारीका रूपमा हेरिएका २४ वर्षीय गोलकिपर सेने लामेन्सको सानो गल्तीले टोली बाहिरिएको टुलुटुलु हेर्नुपर्यो। ८८औं मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गर्दा लामेन्सले बल नियन्त्रणमा लिन सकेका थिएनन्।

बीबीसीका विश्लेषक स्टिफन वार्नकले भनेका छन्, ‘लामेन्सले म्यानचेस्टर युनाइटेडका लागि राम्रो खेले पनि विश्वकपको यो दबाब झेल्न सकेनन्।’

सन् २०१४ मा अल्जेरियालाई हराउँदै विश्वकपमा पुनरागमन गर्दा बेल्जियमको बेल्जियमको टोलीमा इडेन हाजार्ड, भिन्सेन्ट कोम्पनी र मोसा डेम्बेले जस्ता विश्वविख्यात खेलाडीहरू थिए।

यो समूहले सन् २०१८ को विश्वकपमा तेस्रो स्थान हासिल गर्यो भने युरो २०१६ र २०२० को क्वाटरफाइनलसम्म पुग्यो। लामो समयसम्म फिफा वरीयताको शीर्ष स्थान ओगट्यो।

आलोचकहरूले यति धेरै प्रतिभा भएर पनि बेल्जियमले कुनै ठूलो उपाधि जित्न नसकेको भन्दै आलोचना गर्ने गरेका छन्।

तर, १२ करोडभन्दा कम जनसंख्या भएको सानो देशका लागि विश्वका हस्ती टोलीहरूलाई चुनौती दिनु आफैँमा ठूलो उपलब्धि भएको खेल पत्रकार ग्विलेम बालागको तर्क छ।

उनी भन्छन्, ‘गोल्डेन जेनेरेसन भनिनका लागि स्वर्ण पदक वा उपाधि नै जित्नुपर्छ भन्ने छैन, उनीहरूले बेल्जियमको फुटबललाई जुन उचाइमा पुर्याए, त्यो नै ऐतिहासिक छ।’

नयाँ पुस्तामा आशाको किरण
एउटा युगको अन्त्य भए पनि बेल्जियमको भविष्य भने सुरक्षित देखिएको छ। प्रशिक्षक रुडी गार्सियाले टोलीमा १३ जना यस्ता खेलाडीहरू समावेश गरेका छन्, जसको उमेर २५ वर्षभन्दा कम छ।

यो विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोलकर्ता बनेका चार्ल्स डे केटलारेले भविष्यको स्टारका रूपमा आफूलाई उभ्याएका छन्। जेरेमी डोकु र अमाडो ओनाना जस्ता युवा खेलाडीहरूले मैदानमा देखाएको गति र कौशलले बेल्जियमको नयाँ युग सुरु भएको संकेत गरेको छ।

प्रशिक्षक गार्सियाले भने, ‘म मेरा पुराना खेलाडीहरूका लागि दुखी छु, उनीहरू एउटा अन्तिम खुसीका साथ बिदा हुन चाहन्थे। तर हाम्रा युवा खेलाडीहरूले यस हारबाट धेरै सिक्नेछन्। हामीले स्पेन जस्तो बलियो टोलीलाई कडा टक्कर दियौँ, यसमा हामीलाई गर्व छ।’

असार २७, २०८३ शनिबार ०७:५५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।