विश्वकप फुटबल : स्पेनले ६४९ मिनेटपछि गोल खायो, तर बेल्जियम बाहिरियो

विश्वकप फुटबल : स्पेनले ६४९ मिनेटपछि गोल खायो, तर बेल्जियम बाहिरियो

एजेन्सी : विकल्पका रूपमा मैदान प्रवेश गरेका मिडफिल्डर मिकेल मेरिनो फेरि एकपटक स्पेनका लागि ‘संकटमोचक’ बनेका छन्।

खेल सकिन दुई मिनेट मात्र बाँकी रहँदा उनले गरेको निर्णायक गोलको मद्धतले बेल्जियमलाई २-१ ले हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अब सेमिफाइनलमा स्पेनले अर्को बलियो टोली फ्रान्सको सामना गर्नेछ।

लस एन्जलसमा भएको खेलको सुरुवातदेखि नै स्पेनले दबाब बनाएको थियो। खेलको ३० औं मिनेटमा फाबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाए।

डानी ओल्मोको प्रहारलाई बेल्जियमका गोलकिपर थिबाउट कोर्टुवाले बचाए पनि फर्किएको बलमा रुइजले गोल गर्न सफल भएका थिए।

यद्यपि, स्पेनको यो अग्रता धेरै समय टिक्न सकेन। पहिलो हाफ सकिनु चार मिनेट अघि बेल्जियमका चार्ल्स डे केटलारेले हेडमार्फत उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

यो गोलसँगै स्पेनको यस विश्वकपमा ६४९ मिनेटदेखि गोल नखाएको अपराजित कीर्तिमान पनि समाप्त भयो।

दोस्रो हाफमा दुवै टोलीले गोलका प्रयास गरे पनि सफलता पाएका थिएनन्। तर, खेलको ७१ औं मिनेटमा बेल्जियमका लागि एउटा दुर्भाग्यपूर्ण क्षण आयो।

विश्वकै उत्कृष्ट गोलकिपरमध्येका एक थिबाउट कोर्टुवा मांसपेशीको चोटका कारण रुँदै मैदानबाट बाहिरिनु पर्यो। उनको स्थानमा म्यानचेस्टर युनाइटेडका युवा गोलकिपर सेने लामेन्स मैदान छिरे।

खेलको ८८औं मिनेटमा स्पेनका १८ वर्षीय डिफेन्डर पाउ कुबार्सीले २५ यार्ड टाढाबाट कडा प्रहार गरे। बेल्जियमका वैकल्पिक गोलकिपर लामेन्सले सो बललाई नियन्त्रणमा लिन सकेनन् र हातबाट फुत्कियो।

त्यही मौकाको फाइदा उठाउँदै मैदान छिरेको मात्र ११७ सेकेन्ड भएका मिकेल मेरिनोले बललाई जाली चुमाउँदै स्पेनको जित सुनिश्चित गरे।

आर्सनलका मिडफिल्डर मिकेल मेरिनोका लागि यो साता सपना जस्तै बनेको छ। पोर्चुगल विरुद्धको अन्तिम १६ को खेलमा पनि उनले ९१ औं मिनेटमा गोल गरेर टोलीलाई जिताएका थिए।

रोचक कुरा के छ भने, जनवरीमा खुट्टाको गम्भीर चोटका कारण उनले विश्वकप खेल्नेमा शंका थियो। तर, चोटलाई जितेर मैदान फर्किएका उनी अहिले स्पेनलाई विश्वविजेता बनाउने बाटोमा मुख्य खम्बा बनेका छन्।

यो हारसँगै बेल्जियमको फुटबल इतिहासकै सबैभन्दा प्रभावशाली मानिएको ‘गोल्डेन जेनेरेसन’को विश्वकप यात्रा सम्भवतः समाप्त भएको छ।

केभिन डी ब्रुयेन, रोमेलु लुकाकु, थिबाउट कोर्टुवा र एक्सेल विट्सल जस्ता दिग्गज खेलाडीहरूका लागि यो अन्तिम विश्वकप हुन सक्छ। धेरै प्रतिभा भएर पनि यो पुस्ताले बेल्जियमका लागि कुनै ठूलो उपाधि जित्न सकेन।

स्पेनका युवा स्टार लामिने यमालले यस खेलमा पनि राम्रो प्रभाव पारे पनि उनले सोचे जस्तो गोल वा असिस्ट गर्न सकेका छैनन्। यद्यपि, प्रशिक्षक लुइस डी ला फुइन्टेले उनको खेलप्रति विश्वास व्यक्त गरेका छन्।

स्पेनको रक्षापङ्क्ति बलियो देखिए पनि फ्रान्स विरुद्धको सेमिफाइनलमा स्ट्राइकरहरूले अझै सुधारिएको प्रदर्शन गर्नुपर्ने विश्लेषण गरिएको छ।

युरो २०२४ को च्याम्पियन स्पेन अब दोस्रो पटक विश्वकपको उपाधि उचाल्नबाट मात्र दुई जित टाढा छ। स्पेन र फ्रान्सबीचको बहुप्रतिक्षित सेमिफाइनल खेल आगामी मंगलबार डालासमा हुनेछ।

असार २७, २०८३ शनिबार ०७:३४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।