गणेश नेपालीको मृत्यु प्रकरण : छानबिनमा सघाउने काठमाडौं महानगरको प्रतिबद्धता
काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएका २५ वर्षीय युवा गणेश नेपालीको मृत्यु भएपछि काठमाडौं महानगरपालिकाले उक्त घटना सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई पूर्ण सहयोग गर्ने जनाएको छ।
महानगरले शुक्रबार एक प्रेस विज्ञप्तिमा छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदम चाल्ने उल्लेख छ। संघीय सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्ने र यस्ता खालका घटना दोहोरिन नदिन महानगर तयार रहेको उल्लेख छ।
गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाउनुअघि मोटरसाइकल पार्किङको विषयमा काठमाडौं महानगरपालिकाका एक महिला नगर प्रहरीसँग विवाद भएको थियो। विवादकै क्रममा नगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्विल लक गरेको थियो। सार्वजनिक भएको अडियो सहितको फुटेजमा नगर प्रहरीले उनको मोटरसाइकल रोकेपछि दुवैबिच भनाभन भएको सुनिन्छ।
उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै महानगरपालिकाले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। यस्तै, मृतक नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा उपलब्ध गराउने विषयमा आगामी कार्यपालिका बैठकबाट विधिपूर्वक निर्णय गरिने विज्ञप्तिमा उल्लेख छ।

असार २६, २०८३ शुक्रबार २२:४७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।