नर्वेको जर्सीका लागि युरोपमा १२ घण्टादेखि लाइन, मागअनुसार उत्पादन नहुँदा ‘ब्ल्याक’मा चौबर मूल्य

नर्वेको जर्सीका लागि युरोपमा १२ घण्टादेखि लाइन, मागअनुसार उत्पादन नहुँदा ‘ब्ल्याक’मा चौबर मूल्य

एजेन्सी : विश्वकप फुटबलको क्वार्टरफाइनलमा शनिबार राति नर्वे र इंग्ल्यान्ड भिड्दै छन्। यो खेलको क्रेजले अहिले युरोपभरि नर्वेको राष्ट्रिय टिमको जर्सी पाउनै मुस्किल भएको छ।

नर्वेली फुटबल संघका अनुसार उनीहरूले जर्सीको माग यति धेरै होला भनेर अनुमान नै गरेका थिएनन्। खासगरी स्टार स्ट्राइकर अर्लिङ हालान्डको बढ्दो लोकप्रियता र अघिल्लो खेलमा नर्वेले ब्राजिललाई हराएपछि फ्यानहरू जर्सीका लागि पागल बनेका हुन्।

गत वर्ष यही समयमा करिब ५० हजार जर्सीको माग भएकोमा यस वर्ष २ लाख ५० हजारभन्दा बढी जर्सी अर्डर भएको छ। जर्सी बनाउने कम्पनी नाइकीले माग अनुसारको उत्पादन गर्न सकेको छैन।

ओस्लोका खेलकुद पसलहरूमा जर्सी किन्न ६०० मिटरभन्दा लामो लाइन लागेको छ। कतिपय फ्यानहरू त पसल खुल्नुभन्दा १२ घण्टा अघिदेखि नै कुर्सी र बन्दोबस्तीका सामान लिएर लाइनमा बसिरहेका छन्।

पसलका म्यानेजर एन्डर्स लिलिवर्ग भन्छन्, ‘मैले यहाँ धेरै वर्ष काम गरेँ, तर यस्तो माहोल कहिल्यै देखेको थिइनँ। यो त बिल्कुलै पागलपन जस्तै छ।’

पसलहरूमा जर्सी सकिएपछि अहिले अनलाइनमा यसको कालोबजारी सुरू भएको छ। नाइकीको वेबसाइटमा करिब ९० पाउण्ड पर्ने जर्सीलाई अहिले रिसेल साइटहरूमा ३५५ पाउण्डसम्ममा बेचिरहेको पाइएको छ।

नर्वेले इराक, सेनेगल, आइभोरी कोस्ट र ब्राजिललाई हराउँदै क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको हो। नाइकीले थप जर्सीहरू बजारमा पठाउन लागेको बताए पनि शनिबारको ठूलो खेलअघि सबै फ्यानले जर्सी पाउने सम्भावना निकै कम छ।

असार २६, २०८३ शुक्रबार १३:१५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।