व्यावसायिक फुटबल पनि छाड्ने मुडमा नेयमार

व्यावसायिक फुटबल पनि छाड्ने मुडमा नेयमार

काठमाडौं : ब्राजिलियन फुटबलका स्टार खेलाडी नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे। जारी विश्वकपको प्रि-क्वार्टरफाइनलमा नर्वेसँग पराजित भई ब्राजिल बाहिरिएसँगै ३४ वर्षीय नेयमारले राष्ट्रिय टिमबाट बिदा लिने निर्णय गरे।

नर्वेसँगको खेलमा २-१ ले पराजित भएपछि भावुक बनेका नेयमारले भनेका थिए, ‘मैले प्रयास गरेँ, धेरै प्रयास गरेँ । मेरो यात्रा यहीँबाट सुरु भएको थियो र यहीँ सकियो। अब सबै समाप्त भयो।’

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका नेयमारले अब व्यावसायिक फुटबलबाट पनि सन्यास लिने विषयमा विचार गरिरहेको ब्राजिलियन सञ्चारमाध्यमहरूले जनाएका छन्।

हाल आफ्नो बाल्यकालको क्लब ‘सान्तोष’मा आबद्ध रहेका उनले क्लबसँगको सम्झौता पूरा नगर्दै फुटबलबाटै टाढिने सम्भावना बढेको छ।

नेयमार पछिल्लो समय फुटबल खेलप्रति विरक्तिएको र राष्ट्रिय टिममा आफ्नो योगदानको उचित कदर नभएको महसुस गरिरहेको समाचारमा उल्लेख छ।

विश्वकपमा बारम्बारको आँसु
ब्राजिलका लागि पेलेको कीर्तिमान तोड्दै सर्वाधिक ८० गोल गरेका नेयमारका लागि विश्वकपको यात्रा सधैँ पीडादायी रह्यो। २०१४ मा घरेलु मैदानमै भएको विश्वकपकमा उनी घाइते भएर बाहिरिनुपर्यो, जहाँ ब्राजिल जर्मनीसँग ७-१ गोलले पराजित भएको थियो।

२०१८ मा बेल्जियमसँग पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको ब्राजिल २०२२ मा क्रोएसियाविरुद्ध उत्कृष्ट गोल गरे पनि पेनाल्टी सुटआउटमा पराजित भयो।

अहिलेको विश्वकपमा पनि नर्वेविरुद्धको खेलमा ७४औं मिनेटमा मैदान प्रवेश गरी एक पेनाल्टी गोल गरे पनि अर्लिङ हालान्डको दुई गोलले ब्राजिलको यात्रा टुङ्ग्याइदियो।

यसपटकको विश्वकपमा प्रशिक्षक कार्लो एन्सेलोटीको टोलीमा विवादास्पद रूपमा समेटिएका नेयमारले कुल ४५ मिनेट मात्र मैदानमा बिताउन पाए। चोटका कारण पछिल्लो तीन वर्ष राष्ट्रिय टिमबाट बाहिर रहेका उनी विश्वकप खेल्नकै लागि फर्किएका थिए।

अहिले नेयमार अमेरिकामा आफ्नो परिवारसँग समय बिताइरहेका छन्। उनले आगामी केही दिनमै व्यावसायिक फुटबल खेल्ने वा नखेल्ने भन्नेबारे अन्तिम निर्णय लिने समाचारमा उल्लेख छ।

असार २६, २०८३ शुक्रबार ११:२०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।