विश्वकपमा रेफ्रीको बचाउ गर्दै कोलिनाले भने - फिफा अध्यक्षले त निर्णय बदल्न सक्दैनन् भने पक्षपात कसरी हुन्छ?
एजेन्सी : फिफाका प्रमुख रेफ्री अधिकारी पियरलुइजी कोलिनाले विश्वकपको अन्तिम १६ अन्तर्गत अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गरेको खेलमा भएको रेफ्री निर्णयको बचाउ गरेका छन्।
उनले रेफ्रीहरूले पूर्ण स्वतन्त्रताका साथ निष्पक्ष खेल खेलाएको दाबी गर्दै पक्षपातको आरोपलाई पूर्ण रूपमा खण्डन गरेका छन्।
बिहीबार फिफाको आधिकारिक वेबसाइटमा प्रकाशित एक अन्तर्वार्तामा कोलिनाले रेफ्रीहरूको आलोचना हुनु फुटबलमा सामान्य भए पनि उनीहरूको इमानदारितामाथि नै प्रश्न उठाउनु निन्दनीय भएको बताए। खेलमा पराजित भएपछि इजिप्टले खेल अधिकारीहरूविरुद्ध उजुरी दर्ता गरेपछि कोलिनाको यो प्रतिक्रिया आएको हो।
"छोटो समयमा धेरै खेलहरू खेल्नुपर्ने भएकाले कहिलेकाहीँ अपेक्षाअनुसार निर्णय नहुनु स्वाभाविक हो। तर यस्तो अवस्थामा रेफ्रीहरू अर्को खेलका लागि थप तयारीमा जुट्छन्। निर्णयहरूमाथि रचनात्मक बहस हुनु फुटबलको हिस्सा हो, तर विना आधार लगाइने आरोपहरूको खेलमा कुनै स्थान हुँदैन," उनले भने।
कोलिनाले यस्ता आरोपले रेफ्री तथा उनीहरूका परिवारको सुरक्षामा समेत असर पार्न सक्ने चेतावनी दिए।
उनले फिफा विश्वकपका रेफ्रीहरूको निष्पक्षतामा शङ्का गर्ने ठाउँ नरहेको स्पष्ट पार्दै थपे, "फिफा अध्यक्ष जियानी इन्फान्टिनो स्वयंले पनि रेफ्रीको निर्णयलाई प्रभावित पार्न सक्दैनन्।"
खेलमा के भएको थियो?
इजिप्ट र अर्जेन्टिनाबीचको खेलमा इजिप्टले २–० को अग्रता लिएको थियो। तर, खेल सकिन ११ मिनेट बाँकी छँदा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै खेल ३–२ ले आफ्नो पक्षमा पाऱ्यो। इन्जुरी समयमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई क्वार्टरफाइनलमा पुर्याएका थिए।
खेलपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले अर्जेन्टिनालाई प्रतियोगितामा टिकाइराख्न रेफ्रीमाथि दबाब परेको हुन सक्ने आरोप लगाएका थिए। उनले आफ्नो टोली क्वार्टरफाइनल पुग्ने अवसरबाट वञ्चित भएको दाबी गरे।
इजिप्ट फुटबल संघले पनि भिडियो सहायक रेफ्री भीएआरको प्रयोग उचित ढंगले नभएको आरोप लगाउँदै रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएको थियो।
संघले मोस्तफा जिकोको दोस्रो हाफमा गरेको गोललाई नभएको फाउलका आधारमा रद्द गरिएको तथा अर्जेन्टिनाको विजयी गोलअघि मोहम्मद सलाहमाथि भएको चुनौतीलाई बेवास्ता गरिएको दाबी गरेको थियो।
इजिप्ट १–० ले अघि रहेको अवस्थामा मोहमद सलाहको पासमा मोस्तफा जिकोले दोस्रो गोल गरेका थिए। गोल गरेपछि उनले जर्सी फुकाल्दै उत्सव मनाए। तर केहीबेरपछि मोस्तफाले गरेको गोललाई फाउलका आधारमा भीएआरले रद्द गरिदिएको थियो।
इजिप्टले त्यहाँ कुनै फाउल नभएको दाबी गरे पनि कोलिनाका अनुसार गोल हुनुअघि इजिप्टका मिडफिल्डर मरवान अतियाले अर्जेन्टिनाका डिफेन्डर लिसेन्द्रो मार्टिनेजको खुट्टामा कुल्चिएको देखिएको थियो।
यसबारे स्पष्ट पार्दै कोलिनाले भने, "खुट्टामा कुल्चिनु फाउल हो। यदि रेफ्रीले मैदानमा त्यो देखेनन् भने भीएआरले हस्तक्षेप गर्न सक्छ। हामीले खेलका नियमहरूलाई एकरूपताका साथ लागू गरेका छौँ।"
अर्जेन्टिनाले विजयी गोल गर्नुअघि इजिप्टका स्टार खेलाडी मोहम्मद सलाहलाई डिपिबक्स भित्र लडाइँदा पेनाल्टी नदिएकोमा इजिप्ट आक्रोशित थियो। कोलिनाले यसलाई जुलियन अल्भारेज र सलाहबीचको 'सामान्य फुटबल कन्ट्याक्ट' को रूपमा व्याख्या गरे। उनले डिफेन्डरले पहिले बल छोएर त्यसपछि भएको सामान्य सम्पर्कलाई फाउल मान्न नसकिने भएकाले पेनाल्टी नदिने निर्णय उचित रहेको स्पष्ट पारे।
कोलिनाले फुटबलका केही निर्णयहरू रेफ्रीको व्यक्तिगत मूल्याङ्कनमा भर पर्ने भए तापनि समग्र प्रतियोगिताभर भीएआरको प्रयोग सही र निष्पक्ष रूपमा भइरहेकोमा फिफा सन्तुष्ट रहेको बताए।
असार २५, २०८३ बिहीबार १५:०८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।