सेमिफाइनल गुमाउने जोखिममा स्टार खेलाडी

सेमिफाइनल गुमाउने जोखिममा स्टार खेलाडी

एजेन्सी : मेक्सिकोविरुद्ध जित निकाल्दै विश्वकपको क्वार्टरफाइनलमा पुगेको इङ्गल्याण्डका लागि ‘डिसप्लिनरी’ टाउको दुखाइको विषय बनेको छ।

प्रशिक्षक थोमस टुचेलका चार प्रभावशाली खेलाडीहरू अर्को खेलमा कार्ड पाए सेमिफाइनल गुमाउने जोखिममा रहेका छन्।

मेक्सिकोविरुद्धको रोमाञ्चक ३-२ को जितमा डेक्लान राइस, मार्क गुइही र निको ओरेलीले पहेँलो कार्ड पाएका थिए। यसअघि अन्तिम ३२ को खेलमा जुड बेलिङ्घमले पनि पहेँलो कार्ड पाइसकेका छन्।

यी चारै खेलाडीले नर्वेविरुद्धको क्वार्टरफाइनलमा अर्को पहेँलो कार्ड पाएमा, इङ्गल्याण्ड सेमिफाइनल पुगेको खण्डमा उनीहरूले उक्त महत्वपूर्ण खेल खेल्न पाउने छैनन्।

यस्तै, जोर्डन हेण्डरसनले पनि मेक्सिकोविरुद्ध कार्ड पाएका थिए, तर जितको खुसीयाली मनाउने क्रममा नाडीमा लागेको चोटका कारण उनी प्रतियोगिताबाटै बाहिरिने सम्भावना छ।

डिफेन्डर जरेल क्वान्सा भने मेक्सिकोविरुद्ध रातो कार्ड पाएका कारण क्वार्टरफाइनलमा हुने छैनन्।

के छ नियम?
फिफाको नियम अनुसार, अन्तिम ३२ देखि क्वार्टरफाइनलसम्मको अवधिमा दुईवटा पहेँलो कार्ड पाउने खेलाडीले स्वतः एक खेलको प्रतिबन्ध झेल्नुपर्ने हुन्छ।

यद्यपि, क्वार्टरफाइनल सकिएपछि पहेँलो कार्डको गणना ‘रिसेट’ हुन्छ। यसको अर्थ, कुनै खेलाडी सेमिफाइनलमा रातो कार्ड पाएको अवस्थामा बाहेक, पहेँलो कार्डकै आधारमा फाइनल खेल गुमाउनुपर्ने अवस्था आउने छैन।

अन्य टोली पनि दबाबमा
कार्डको जोखिममा इङ्गल्याण्ड मात्र छैन। अन्य प्रमुख टोलीका स्टार खेलाडीहरू पनि ‘सस्पेन्सन’को खतरामा छन्।

फ्रान्सका माइकल ओलिसे, ब्राड्ली बारकोला र मानु कोने, स्पेनका फेरान टोरेस, अर्जेन्टिनाका गोन्जालो मोन्टिएल पनि यो सूचीमा छन्।

यसका अलावा स्वीट्जरल्याण्डका ग्रानिट जाका, मोरक्कोका अचराफ हाकिमीसहित चार खेलाडी, नर्वेका एन्टोनियो नुसा पनि सस्पेन्सको खतरामा छन्।

अहिलेको अवस्थामा इङ्गल्याण्डका लागि नर्वेविरुद्धको खेल जित्नु मात्र चुनौती होइन, आफ्ना मुख्य खेलाडीहरूलाई कार्डबाट जोगाएर सेमिफाइनलका लागि सुरक्षित राख्नु पनि उत्तिकै महत्वपूर्ण हुनेछ।

असार २५, २०८३ बिहीबार ०७:४७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।