क्वाटरफाइनलमा ऐतिहासिक चार स्ट्राइकरहरूको भिडन्त, को-को पुग्लान् सेमिफाइनलमा ?
काठमाडौं : सदस्य संख्या बढाउँदै भएको यस पटकको फिफा विश्वकप फुटबलका केही खेलहरू निकै रोमाञ्चक बने। त्यसले क्वार्टरफाइनलको समीकरण समेत निकै रोचक बनेको छ।
नेपाली समय अनुसार शुक्रवारबाट सुरु हुने चारवटा रोमाञ्चक खेलहरूमा ६ वटा युरोपेली टोलीका साथै अफ्रिका र दक्षिण अमेरिकाका एक–एक टोली फाइनलको नजिक पुग्न प्रतिस्पर्धा गर्नेछन्।
फ्रान्स विरुद्ध मोरक्को : सन् २०२२ को सेमिफाइनलको पुनरावृत्ति
एटलान्टा स्टेडियममा नेपाली समय अनुसार शुक्रबार बिहान १:४५ बजे हुने खेलमा सन् २०२२ को सेमिफाइनलको झल्को दिनेछ। कतार विश्वकपमा मोरक्को सेमिफाइनलसम्म पुग्नु नै एक सरप्राइज जस्तो थियो, अहिले अमेरिकामा प्रतिस्पर्धा गरिरहेको यो टोली केवल भाग्यको भरमा मात्र यहाँसम्म आइपुगेको होइन।
गत शनिवार क्यानडाविरुद्ध खेल्दा अफ्रिका कप अफ नेसन्सको च्याम्पियन टोली रहेको मोरक्को गत विश्वकपमा सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो। तर चार वर्षअघि फ्रान्ससँग सेमिफाइनल हार्ने टोलीमा रहेकामध्ये जम्मा चार खेलाडी मात्र अहिले मैदानमा छन्।
२०२२ को उपविजेता फ्रान्सले शनिवार पाराग्वेविरुद्ध जित निकाल्दा चार वर्षअघिको सेमिफाइनल खेलेका जम्मा तीन खेलाडी मात्र सुरुवाती-११ मा थिए। त्यसयता डिडिएर डेसक्याम्प्सको टोलीमा सेन्टर-ब्याक विलियम सालिबा र सृजनशील मिडफिल्डर माइकल ओलिसे जस्ता नयाँ खेलाडीहरूको उदय भएको छ।
किलियन एम्बाप्पे अझै पनि टोलीका मुख्य स्टार हुन् र उनले अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने दौडलाई जारी राखेका छन्।
महत्वपूर्ण पक्ष
फ्रान्सले विश्वकपमा ६ मध्ये ३ खेल अफ्रिकी टोलीहरूसँग हारेको छ। मोरक्को आफ्ना पछिल्ला ३४ खेलमा पराजित भएको छैन, तर उनीहरूले फ्रान्सलाई कहिल्यै हराउन सकेका छैनन्। फ्रान्सले आफ्ना पछिल्ला १२ मध्ये ११ खेल जितेको छ, जसमा लगातार ७ खेलको जित सामेल छ।
बेल्जियम र स्पेन : आक्रमण विरुद्ध रक्षापंक्ति
लस एन्जलस स्टेडियममा नेपाली समय अनुसार शनिवार बिहान ००:४५ बजे सेमिफाइनल पुग्न स्पेन र बेल्जियमको खेल हुँदैछ। बेल्जियमले यो विश्वकपमा प्रहार गरेका १३ गोल तेस्रो सर्वाधिक संख्या हो।
उनीहरूले आफ्ना पछिल्ला तीन खेलमा न्युजिल्याण्ड, सेनेगल र अमेरिकाविरुद्ध उत्कृष्ट गोलको वर्षा गरेका छन्। रोमेलु लुकाकु पूर्ण रूपमा फिट नदेखिए पनि उनले सब्सटिच्युटबाट मैदान छिरेर ३ गोल गरिसकेका छन्, जसको औसत हरेक ६७ मिनेटमा एक गोल हुन आउँछ।
यस्तै, आर्सनलका लिआन्ड्रो ट्रोसार्डले दुई गोल र दुई असिस्ट (गोल गर्न सहयोग) गरिसकेका छन्।
तर, स्पेन उनीहरूका लागि पक्कै पनि निकै कठिन चुनौती हुनेछ। स्पेनले यस प्रतियोगितामा अहिलेसम्म एक गोल पनि खाएको छैन। २०२२ को विश्वकपको अन्तिम खेलसहित लगातार ६ खेलमा गोल नखाई'क्लिन सिट राख्नु विश्वकप इतिहासमै कुनै पनि टोलीको सबैभन्दा लामो कीर्तिमान हो।
महत्वपूर्ण पक्ष
लुइस डे ला फुएन्टेको प्रशिक्षणमा स्पेनले विश्वकप वा युरोपियन च्याम्पियनसिपका सबै ६ वटा नकआउट खेलहरू जितेको छ। सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप जितेयता स्पेन पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो। स्पेन बेल्जियमविरुद्धका पछिल्ला ११ भेटमा ९ जित, २ बराबरी छ।
केन विरुद्ध हालान्ड - ऐतिहासिक स्ट्राइकर भिडन्त
मियामी स्टेडियममा नेपाली समय अनुसार आइतबार बिहान २:४५ मा इंग्ल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा हुँदैछ। नर्वेका गोल मेसिन एर्लिङ हालान्डले यस विश्वकपका ४ खेलमा ७ गोल गरिसकेका छन्। अन्तिम १६ को खेलमा पाँच पटकको विजेता ब्राजिललाई प्रतियोगिताबाट बाहिर पठाउन उनले दुई उत्कृष्ट गोल गरेका थिए।
म्यानचेस्टर सिटीका यी स्ट्राइकरले ५४ अन्तर्राष्ट्रिय खेलमा ६२ गोल गरिसकेका छन्, जसको औसत हरेक ७१ मिनेटमा एक गोल हुन आउँछ। उनले देशका लागि लगातार १४ खेलमा गोल गर्ने क्रममा २७ गोल गरिसकेका छन्।
गोल्डेन बुटको दौडमा हालान्डभन्दा मात्र एक गोलले पछि रहेका इङ्गल्यान्डका कप्तान ह्यारी केन पनि उच्च फर्ममा छन्, जसले मेक्सिकोविरुद्धको पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए। ब्यायेर्न म्युनिखका ३२ वर्षीय यी फरवार्डले सन् २०२५-२६ को सिजनमा क्लब र देशका लागि युरोपेली फुटबलमै सबैभन्दा बढी ७३ गोल गरेका थिए। सोही लयलाई उनले उत्तर अमेरिकामा पनि निरन्तरता दिइरहेका छन्। १४ गोलका साथ उनी विश्वकपमा इङ्गल्यान्डका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनिसकेका छन्।
महत्वपूर्ण पक्ष
इङ्गल्याण्डले आफ्नो ११ औँ विश्वकप क्वार्टरफाइनल खेल्दैछ। यो ब्राजिल र जर्मनी (दुवै १४ पटक) पछिको तेस्रो ठूलो संख्या हो। यद्यपि, इङ्गल्याण्डले यस चरणमा अहिलेसम्म मात्र ३ खेल जितेको छ।
यसको विपरीत नर्वे अहिलेसम्म जम्मा चारवटा विश्वकपमा मात्र छनोट हुन सकेको छ। कुनै पनि ठूलो प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको उसको पहिलो पटक हो। नर्वेले अहिलेसम्मका आफ्ना सबै खेलमा गोल गर्ने र गोल खाने गर्दै कठिन यात्रा तय गरेको छ। सन् १९५४ मा पश्चिम जर्मनीबाहेक यस्तो रेकर्डका साथ कुनै पनि टोली विश्वकपको सेमिफाइनलमा पुगेको छैन।
अर्जेन्टिना विरुद्ध स्विट्जरल्याण्ड: अर्जेन्टिनाले जित्ने बाटो पहिल्याइरहन सक्ला?
कान्सास सिटी स्टेडियममा नेपाली समय अनुसार आइतबार बिहान ६:४५ बजे अर्जेन्टिना र स्विजरल्यान्डबिच प्रतिस्पर्धा हुँदैछ। यो लगातार तेस्रो नकआउट खेल हुनेछ जहाँ अर्जेन्टिनालाई स्पष्ट दाबेदार मानिएको छ। तर साबिक विजेताका लागि अहिलेसम्मको यात्रा सहज भने देखिएको छैन।
अन्तिम ३२ को खेलमा सानो टोली केप भर्डले उनीहरूलाई एक्स्ट्रा टाइमसम्म पुर्याएको थियो भने त्यसपछिको चरणमा इजिप्टविरुद्ध विश्वकप इतिहासकै सबैभन्दा ढिलो पुनरागमन गर्दै जित निकालेको थियो। यो जित विवादमा तानिएको छ।
मुरात याकिनको नेतृत्वमा रहेको स्विट्जरल्याण्ड एक जिद्दी र बलियो प्रतिद्वन्द्वी साबित भएको छ। उनीहरूसँग २० वर्षीय प्रतिभावान खेलाडी जोहान मन्जाम्बी छन्, यद्यपि उनले चोटका कारण कोलम्बियाविरुद्धको पेनाल्टी सुटआउटको जित गुमाएका थिए।
सन् १९५४ पछि स्विट्जरल्याण्ड पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो र उनीहरू उमेर ढल्किँदै गएका खेलाडीहरू भएको अर्जेन्टिनाको टोलीसँग डराउने देखिँदैनन्।
महत्वपूर्ण पक्ष
लियोनल मेस्सीका थुप्रै कीर्तिमानहरू भए पनि गत मंगलबार उनले एउटा नचाहेर पनि खराब रेकर्ड आफ्नो नाममा गरे। उनी विश्वकपमा दुईवटा पेनाल्टी मिस गर्ने पहिलो खेलाडी बनेका छन्। यद्यपि, पछि गरेको गोलका कारण उनी ८ गोलसहित एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुटको दौडमा अगाडि छन्।
-एजेन्सीको सहयोगमा
असार २४, २०८३ बुधबार २२:०४:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।