डेङ्गु सार्ने लार्भा नष्ट गर्न काठमाडौंका वडा-वडामा स्वास्थ्यकर्मी र स्वयंसेविकाको टोली खटिने
काठमाडौं : काठमाडौं महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पछिल्लो समय डेङ्गुका बिरामी बढ्न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरणअन्तर्गत सबै वडामा लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार भएको जनाइएको छ।
उक्त अभियानका लागि कामपाले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र समुदायमा आधारित सङ्घसंस्थाका प्रतिनिधिलाई तालिम दिएर खटाउने तयारी गरेको कामपा महामारी रोग रोकथाम तथा निन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषिप्रसाद भुसालले जानकारी दिए।
उनका अनुसार कामपाले यस वर्षको बर्खायामको प्रारम्भसँगै डेङ्गु नियन्त्रणका लागि तालिमप्राप्त एक हजार ६५० जना जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।
महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूहलगायत सङ्घसंस्थाका प्रतिनिधिलाई तालिमको लक्षित समूहमा राखिएको छ। यो तालिमपछि तालिमप्राप्त जनशक्तिलाई वडाका विभिन्न स्थान छुट्याएर डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन हुनेछ।
“डेङ्गु सङ्क्रमण दरमा कमी ल्याउने, डेङ्गुका कारण हुने मृत्यु दर घटाउने, डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय लक्ष्य राखिएको छ। निगरानी तथा अनुगमन प्रणाली सुधार, कीट नियन्त्रण, जोखिम सञ्चार तथा सामुदायिक सहभागिता, स्वास्थ्य प्रणालीको पूर्वतयारी तथा प्रतिकार्य, नेतृत्व, बहुक्षेत्रीय सहकार्य र कार्यक्रम व्यवस्थापन सुधार, अनुसन्धान र नवप्रवर्तन कार्यक्रमका रणनीति हुन्, ” उनले भने।
मनसुन सुरु भएसँगै साउन महिनाबाट क्रमशः डेङ्गुको सङ्क्रमण फैलिँदै जाने र कात्तिक, मङ्सिरमा उच्च सङ्क्रमण देखिन्छ। अहिलेबाट नै प्रतिकार्य गर्न सकियो भने विगत वर्षको भन्दा यस वर्ष सङ्क्रमणदर घटाउन सम्भव छ।
डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टे पानी जम्ने सडक, सडकपेटीका खाल्डाखुल्डी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको सङ्ख्या वृद्धि हुने ठाउँ भएकाले यस्ता ठाउँमा पानी जम्न दिनु हुँदैन।
एडिस जातको सङ्क्रमित लामखुट्टेले पारेको अण्डाबाट लार्भा हुँदै निस्क्ने लामखुट्टे वयस्क भएपछि यसले मानिसलाई टोकेमा डेङ्गु रोग लाग्छ। सामान्यतया सङ्क्रमित लामखुट्टेले टोकेको चारदेखि सात दिनभित्र कडा रूपमा ज्वरो आउने गर्दछ।
असार १७, २०८३ बुधबार १३:५९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।