चीनसँग सीमा जोडिएको मनाङको नासोँमा भारतले अस्पताल भवन बनाइदिने, त्यो पनि ५ शय्याको
मनाङ : चीनसँग सीमा जोडिएको मनाङ जिल्लाको नासोँ गाउँपालिका-५ थोँचेमा भारत सरकारले अस्पताल भवन बनाउने भएको छ।
पाँच शय्याको अस्पताल भवन बनाउन भारत सरकारले सहयोग गर्ने भएको छ। नासोँ गाउँपालिका चीनसँग सीमाना जोडिएको गाउँपालिका हो।
बिहीबार थोँचेमा आयोजित एक संक्षिप्त कार्यक्रममा काठमाडौंस्थित भारतीय दूतावासका उपप्रमुख राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा शिलान्यास गरे।
अस्पताल भवन निर्माणका निम्ति रु छ करोड ६७ लाख ९६ हजार ९३३ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए। भवन निर्माणमा कूल लागतको पाँच प्रतिशत रकम पालिकाले बेहोर्ने छ।
भवनमा बहिरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी, एक्स-रे विभागलगायत बनाइनेछ।
चीन र भारतबीच असमझदारी कायम रहेकै अवस्थामा नेपालले चीनलाई भारतसँग सीमा जोडिएका जिल्लाहरूमा र भारतलाई चीनसँग सीमा जोडिएका जिल्लाहरूमा विभिन्न कार्यक्रमहरू गर्न अनुमति दिँदै आएको छ।
जेठ १५, २०८३ शुक्रबार १४:०८:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।