कोहलपुरमा पनि हटाउन थालियो सुकुम्बासी बस्ती
नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन सुरु गरिएको छ। नगरप्रमुख पूर्णप्रसाद आचार्यले सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरी बसोबास गरेकालाई हटाउन सुरु गरिएको जानकारी दिए।
हालसम्म नगरपालिकाको सम्पर्कमा ६० परिवार वास्तविक भूमिहीन सुकुम्बासी आएको र उनीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको उनले जानकारी दिए।
नगरप्रमुख आचार्यका अनुसार वडा नं ११ स्थित कोहलपुर नगर विकास समितिको कोहलपुर ३ (ख) अन्तर्गत करिब ३६ बिघा क्षेत्रफल (क्रिकेट मैदान आसपास) जग्गा अतिक्रमण गरी सात सय ५१ परिवार घरटहरा बनाएर बसिरहेका छन्। तीमध्ये अव्यवस्थित बासोबासी चार सय १६, भूमिहीन दलित एक सय ७२ र भूमिहीन सुकुम्बासी एक सय ६३ जना रहेको उनले बताए।
“बस्ती विकास तथा बसोबासका क्रममा केही व्यक्ति तथा बिचौलियाको संलग्नतामा नक्कली कागजात तयार गर्ने, जग्गा किनबेच गराउने तथा आर्थिक लाभ लिने गतिविधि भएको भनेर उजुरी पनि आएका छन्। सो सम्बन्धमा सम्बन्धित निकायबाट अनुसन्धान जारी छ,” उनले भने।
यसैबीच, नगर क्षेत्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसोबास गर्दै आएका वास्तविक सुकुम्बासी तथा भूमिहीन दलितको पहिचान गर्न सुरु गरिएको छ। नगरपालिकाले एउटा अभिलेख व्यवस्थापन समिति गठन गरेर घरधुरीको अवस्था, बसोबास अवधि, आर्थिक अवस्था, अन्यत्र जग्गाजमिन भए नभएकोलगायत विषय अध्ययन गरिरहेको छ।
त्यहाँ बसिरहेका परिवारको तथ्याङ्क सङ्कलन तथा कागजात प्रमाणीकरणको काम अघि बढाएको समितिका संयोजक सुनिता सुनारले जानकारी दिइन्। केही व्यक्तिले आफूलाई भूमिहीन दाबी गरे पनि अन्यत्र घरजग्गा रहेको तथ्य भेटिए त्यस्ता व्यक्तिलाई सूचीबाट हटाइने उनले बताइन्।
“गत वर्ष उक्त स्थानका सात सय ५१ जना भूमिहीन सुकुम्बासी र भूमिहीन दलितले फाराम भरे पनि पहिचान गर्दा भूमिहीन दलित एक सय ५३ जना र भूमिहीन सुकुम्बासी एक सय ४१ जना रहेका छन्,” संयोजक सुनारले भनिन्।
वैशाख २६, २०८३ शनिबार २०:२९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।