राप्ती स्वास्थ्य विज्ञानमा सुरु भयो ‘एन्जियोप्लाष्टि’ सेवा
घोराही : दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु भएको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटा र प्रतिष्ठानका डा. दिनेश उप्रेतीसहितको टोलीले शुक्रबार दुई जना बिरामीको एन्जियोप्लाष्टि गरिएको छ।
जिल्लामा पहिलो पटक एन्जियोप्लाष्टि सेवा सुरु भएपछि हृदयघात भएका बिरामीहरूलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ। प्रतिष्ठानले केही दिनअघि मात्रै रोगको पहिचान गर्ने ‘एन्जियोग्राफी’ सेवा सुरु गरेकोमा शुक्रबारदेखि उपचारात्मक विधि ‘एन्जियोप्लाष्टि’ पनि थालनी गर्यो।
प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्सालका अनुसार करिब १० करोड रुपैयाँ लागतमा आवश्यक उपकरण खरिद गरी यो सेवा सञ्चालनमा आएको हो।
हाल यो उपचारका लागि एक लाख रुपैयाँभन्दा बढी खर्च हुने भए पनि विपन्न नागरिक औषधि उपचार कोषमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाइएकाले छिट्टै बिरामीले सहुलियत पाउने प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले जानकारी दिए।
वैशाख १८, २०८३ शुक्रबार १७:०४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।