गर्भवती मृत्यु प्रकरण : डा. रुपाखेती निलम्बित, स्वीकृति विना चल्थे क्लिनिक र फार्मेसी

गर्भवती मृत्यु प्रकरण : डा. रुपाखेती निलम्बित, स्वीकृति विना चल्थे क्लिनिक र फार्मेसी

बुटवल : गर्भपतन गराउने क्रममा पाल्पाको बगनासकाली गाउँपालिका-२ को २९ वर्षीया गीता पाण्डेको मृत्यु प्रकरणमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सतिस रुपाखेतीलाई निलम्बन गर्ने निर्णय गरिएको छ।

घटना पश्चात् गठित नेपाल मेडिकल काउन्सिलको छानबिन समितिले इन्दुलेखा क्लिनिकमा कार्यरत डा. रुपाखेतीले उपचारमा लापरबाही गरेको पाएपछि उनलाई निलम्बनको लागि गरिएको सिफारिसका आधारमा काउन्सिलको जुम बैठकले तत्कालका लागि रुपाखेतीलाई निलम्बन गर्ने निर्णय गरेको छानबिन समितिका संयोजक डा.सम्राट पराजुली बताए। 

त्यस्तै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि कारबाही गर्न सिफारिस गरिएको छ। शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्दै काउन्सिलका सदस्य समेत रहेका संयोजक डा. पराजुलीले ईन्दुलेखा क्लिनिक र जोनल फार्मेसीलाई सञ्चालनमा तत्कालका लागि रोक लगाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिने बताए।

उनका अनुसार गीता पाण्डेयलाई गर्भपतनको औषधि उपलब्ध गराउने जोनल फार्मेसी र अन्तिम अवस्थामा गर्भपतनका लागि संलग्न रहेको ईन्दुलेखा स्वास्थ्य क्लिनिकले सेवा प्रवाहका लागि स्वीकृति नलिएको देखिएको छ।

गर्भपतन गराउने क्रममा हुर्किरहेको गर्भसहित आमाको ज्यान गएको थियो। उपचारमा संलग्न दुई चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ।

वैशाख १२, २०८३ शनिबार १८:३५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।