हुम्ला र कालिकोटबाट दुई जटिल सुत्केरीको हवाई उद्धार, थप उपचारका लागि सुर्खेत ल्याइयो

हुम्ला र कालिकोटबाट दुई जटिल सुत्केरीको हवाई उद्धार, थप उपचारका लागि सुर्खेत ल्याइयो

सुर्खेत : हुम्ला र कालिकोटबाट दुई जना सुत्केरी महिलाको हवाई उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा ल्याइएको छ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ की ४५ वर्षीया सरिला शाहीलाई घरमै सुत्केरी हुँदा साल अड्किएर अत्यधिक रक्तस्राव भएपछि अवस्था जटिल बनेको थियो। 

उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार सुर्खेत ल्याइएको हुम्लाका निमित्र् प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले जानकारी दिए।

त्यस्तै, कालिकोटको पलाँता गाउँपालिका थिर्पूकी २२ वर्षीया अप्सरा शाहीलाई पनि जटिल अवस्थाका कारण हवाई उद्धार गरिएको हो। शनिबार साँझ सुत्केरी व्यथा लागेपछि उनलाई जिल्ला अस्पताल मान्म पुर्याइएको थियो। तर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल कालिकोटका डा. शुभ नारायण ठाकुरले बताए।

स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार अप्सरा शाहीको गर्भमै रहेको शिशुको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। अत्यधिक रक्तस्रावका कारण उनको अवस्था जटिल बनेपछि आइसियु सेवा आवश्यक ठहर गर्दै सुर्खेत पठाइएको हो।

दुवै सुत्केरी महिलाको उद्धार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत गरिएको हो।

वैशाख ६, २०८३ आइतबार १२:४६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।