डेढ करोडको टेण्डरको खरिद मापदण्ड संशोधन गर्ने मदन भण्डारी प्रतिष्ठानको दाबी

डेढ करोडको टेण्डरको खरिद मापदण्ड संशोधन गर्ने मदन भण्डारी प्रतिष्ठानको दाबी

काठमाडौंः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले बोलपत्र संशोधन प्रक्रिया अगाडि बढाइएको दाबी गरेको छ।

शुक्रबार उकेराले सो प्रतिष्ठानबाट अगाडि बढेको खरिद प्रक्रियामा भएको मिलेमतोका बुँदाहरू सार्वजनिक गरेको थियो। उकेराको अध्ययनमा प्रतिष्ठानका उपकुलपतिकै संलग्नतामा निश्चित सप्लायर्स कम्पनीको प्रस्ताव मात्र पास हुनेगरि खरिद मापदण्ड बनाएको खुलेको थियो।

प्रतिष्ठानका रजिष्ट्रार भिम सागर गुरागाईँले शनिबार जारी गरेको विज्ञप्तिमा एकातिर टेन्डर प्रक्रिया कानुनसम्मत रहेको र मिलेमतो नभएको दाबी गरिएको छ। अर्कोतिर आवश्यक संशोधन प्रक्रियामा गएको पनि उल्लेख छ।

बोलपत्र पूर्व बैठक सम्बन्धमा प्राप्त निवेदनहरूको विधिसम्मत रूपमा समीक्षा गरी सरोकारवाला सप्लायर्सहरूको उपस्थितिमा छलफल बैठक सम्पन्न गरिएको र उक्त बैठकको निष्कर्ष बमोजिम बोलपत्रको आवश्यक संशोधनको प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ। प्रतिष्ठानले यो खरिदलाई पारदर्शी बनाउन चाहेको खण्डमा अझै स्पेशिफिकेशन संशोधन गर्न सक्छ।

उकेराले शुक्रबार ‘मदनको नाममा भ्रष्टाचार,  उपकुलपति डा. ज्ञवालीको सक्रियतामा साढे तीन करोडको स्वास्थ्य उपकरण खरिद सेटिङ’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो।

एमालेका महासचिव मदन भण्डारीको नाममा स्थापना गरिएको ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ नेतृत्वले निश्चित सप्लायर्स कम्पनीको मापदण्ड मात्र पास हुनेगरि करिब तीन करोड ४० लाखको टेन्डर प्रक्रिया अगाडि बढाएको देखिएकोबारे उकेराले खुलासा गर्दै समाचार सम्प्रेषण गरेको थियो।

उकेराको खोजमा मकवानपुरस्थित हेटौँडामा रहेको प्रतिष्ठान नेतृत्वले सेटिङअनुसार चाहेकै निश्चित सप्लायर्स कम्पनीलाई टेन्डर दिनेगरी तीन करोड ४० लाखमा ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ मेसिन खरिद गर्ने गरी टेन्डर प्रक्रिया अगाडि बढाएको खुलेको थियो।

त्यसपछि प्रतिष्ठानले शनिबार यो खरिदको विषयमा विज्ञप्ति जारी गरेको हो। चिकित्सक तथा सम्बन्धित प्राविधिक विज्ञहरूको माग, प्रस्तावना, विस्तृत प्रस्तुतीकरण तथा परामर्श पश्चात् मात्र प्राविधिक स्पेसिफिकेसन तयार गरी सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम खरिद प्रक्रिया अगाडि बढाइएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा दाबी गरिएको छ।

“प्रतिष्ठानलाई आवश्यक आर्थोस्कोपीसहितको इन्डोयुरोलोजी सेटअपलाई समेत समेटेर समग्र सेवा सुदृढ गर्ने उद्देश्य राखिएको छ,” विज्ञप्तिमा भनिएको छ, “यसमा पूर्ण रूपमा पारदर्शी प्रक्रिया अपनाइएको छ।”

खरिद गरिने सामग्रीहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार उच्च गुणस्तर (वल्र्ड क्लास)का हुने सुनिश्चित गर्न युरोपियन युनियन (इयू) तथा यूएसएफडिए जस्ता मान्यता प्राप्त निकायबाट स्वीकृत (सर्टिफिकेट) सामग्री आउने गरी स्पेसिफिकेसन तयार गरिएको प्रतिष्ठानले बताएको छ।

प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सामग्री आपूर्ति गर्न दिइएको ४५ दिनको समय प्राविधिक जटिलता, गुणस्तर सुनिश्चितता तथा अन्तर्राष्ट्रिय आपूर्ति प्रक्रियालाई ध्यानमा राखी तोकिएको यथोचित समय सीमा हो।”

तर, यो समयसिमा खरिद सेटिङको अर्को मुख्य शर्त हो। प्रतिष्ठानले यो शर्त संशोधन गरेर मेसिन ल्याइदिनुपर्ने समयसिमा नथप्ने हो भने प्राविधिक स्पेशिफिकेशन जतिसुकै संशोधन गरे पनि खरिद पारदर्शी हुने देखिँदैन। सेटिङअनुसार पहिल्यै टेण्डर पाउने निश्चित गरेर यति ठूलो रकमको मेसिन नल्याइएको भए यति छोटो समयमा विदेशबाट यो मेसिन नेपाल भित्र्याउन सम्भव देखिँदैन।

उकेराले लेखेको तथ्यपरक समाचारमा प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीको भनाईसमेत समावेश गरेर समाचार सम्प्रेषण गरेको थियो।

प्रतिष्ठानले ‘भ्रामक समाचारहरूको उद्देश्य अस्पताल जस्तो संवेदनशील क्षेत्रको कामकारबाहीमा अनावश्यक ढिलाइ सिर्जना गर्नुका साथै प्रतिष्ठानले योजना बमोजिम विस्तार गर्न लागेको विशिष्टीकृत सेवामा अवरोध पुर्याउने दुराशय देखिए’को तर्क गरेको छ। यसरी प्रतिष्ठानले जारी गरेको विज्ञप्ति हेर्दा संवेदनशीलताको नाममा भावनामा खेल्ने कोशिस गरेर खरिदमा भएको अनियमितता लुकाउन खोजेको देखिन्छ।

वैशाख ५, २०८३ शनिबार २१:४०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।