एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्।

त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका उनी शनिबार उपचारपश्चात् घर फर्किएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए। शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहेका थिए।

उनको शल्यक्रियापछि घरमा नै आराम गर्न चिकित्सकले सुझाव दिएको अस्पतालका प्रवक्ता डा सेढाईंले बताए। गत चैत ३० गते अध्यक्ष ओलीको पित्त थैलीको शल्यक्रिया गरी पत्थरी निकालिएको थियो।

जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि गत चैत १४ गते पक्राउ परेका ओलीलाई सोही दिन स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। 

सर्वोच्च अदालतले २६ चैतभित्र अनुसन्धान टुंग्याउन आदेश दिएपछि प्रहरीले ओलीलाई उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो। रिहा भएपछि पनि स्वास्थ्य अवस्थाका कारण शल्यक्रिया आवश्यक भएकाले उनी अस्पतालमै बसेर उपचार गरिरहेका थिए।

वैशाख ५, २०८३ शनिबार २०:५३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।