हिमाली र पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव पर्ने सम्भावना छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ भने लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो हिमाली भूभागमा साधारणतया बदली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
दिउँसो देशका हिमाली भूभागका थोरै स्थान, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति हिमाली भूभागमा साधारणतया बदली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
भोलि बिहानपख तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।
असोज ३०, २०८३ शुक्रबार ०७:५२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।