बाढीले क्षतिग्रस्त त्रिशूली करिडोरका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

बाढीले क्षतिग्रस्त त्रिशूली करिडोरका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं : भोटेकोशी र त्रिशूली नदीको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा आएका छन्।

स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनका अनुसार बाढीले त्रिशूली करिडोरका १८ वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको थियो।

करिब पाँच करोड ५० लाख रुपैयाँ लागतमा ती सबै पुल मर्मत गरी आवागमन सुचारु गरिएको डिभिजनका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले जानकारी दिए।

क्षतिग्रस्तमध्ये ११ वटा पुलको लट्ठा बटारिएको, डेक, बिम र सुरक्षा जाली बगाएको थियो।

ती पुलका लट्ठा सोझ्याउने, ह्यान्डरेल केबल फेर्ने, नयाँ स्टिल डेक र बिम जडान गरी बृहत् मर्मत गरिएको छ। बाँकी सातवटा पुलमा भने सामान्य मर्मत गरिएको डिभिजनले जनाएको छ।

नुवाकोटको बेलकोटगढी-७ र तारकेश्वर-२ जोड्ने पिमलटार-जागाराम पुल, बेलकोटगढी-८ र विदुर नगरपालिका-३ जोड्ने जिलिङ पुल, बेलकोटगढी-५ देखि धादिङको गल्छी-१ जोड्ने फोस्रेटार पुल र केउरेनी-गहते पुल, बेलकोटगढी-५ र गल्छी-२ जोड्ने कोल्पु-कल्लेरीघाट पुल, धादिङको सिद्धलेक-३ र बेनीघाट रोराङ-३ जोड्ने पुल, सिद्धलेक-६ र गजुरी-१ जोड्ने पुल
गल्छी गाउँपालिकाभित्रका महेशदोभान-मास्टार पुल, शीतलबजार-क्युरेनीटार पुल तथा वडा नं १ र ४ जोड्ने पुल र गोरखाको गण्डकी-७ र धादिङको बेनीघाट रोराङ-७ जोड्ने पुल वृहत मर्मतपछि सञ्चालनमा आएका छन्।

यस्तै, गोरखाको गण्डकी-८ र धादिङको बेनीघाट रोराङ-५ जोड्ने बादरे पुल, धादिङको सिद्धलेक-६ र गजुरी-२ जोड्ने बिहानी पम्प पुल, सिद्धलेक-५ र बेनीघाट रोराङ-३ जोड्ने मलेखु पुल, गल्छी-२ र ४ जोड्ने बेल्खु-भुतिया पुल तथा महादेवस्थान पुल, गोरखाको सहिद लखन-४ र चितवनको इच्छाकामना-४ जोड्ने कुरिनटार (लेवाटार) पुल र गोरखाको गण्डकी-६ र चितवनको इच्छाकामना-३ जोड्ने फिस्लिङ पुल भने सामान्य मर्मतपछि सञ्चालनमा आएका छन्।

असोज ३०, २०८३ शुक्रबार ०७:२९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।