नवरात्रको छैटौं दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौं दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं : बडादशैंअन्तर्गत दुर्गा पक्ष (नवरात्र) को छैटौँ दिन आज दशैंघर तथा पूजाकोठामा नवदुर्गामध्येकी छैटौँ रूप ‘कात्यायनी देवी’को विधिपूर्वक पूजा आराधना गरिँदैछ।

वैदिक सनातनी परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको आराधना गरिन्छ। पौराणिक मान्यताअनुसार दानवी शक्तिमाथि विजय प्राप्त गर्न भगवती देवीले कात्यायन ऋषिका आश्रममा दिव्य कन्याका रूपमा अवतार लिएकी थिइन्।

ऋषि कात्यायनले उनलाई पुत्रीका रूपमा स्वीकार गरी लालनपालन गरेकाले यिनको नाम ‘कात्यायनी’ रहन गएको श्रीमद्देवीभागवतलगायत ग्रन्थहरूमा उल्लेख छ।

कात्यायनी देवी सिंहमा सवार, चार हात भएकी (जसमा खड्ग र कमल पुष्प लिएकी तथा वरद र अभय मुद्रा धारण गरेकी) स्वरूपमा पुजिन्छिन्। देवी कात्यायनीको भक्तिभावपूर्वक पूजा आराधना गर्नाले धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुनुका साथै रोग, भय र शोकबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।

गत आइतबार घटस्थापनासँगै सुरु भएको नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिएको थियो। षष्ठीका दिन आज कात्यायनीको आराधनापछि क्रमशः सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिनेछ।

नवरात्रका अवसरमा दशैंघर तथा शक्तिपीठहरूमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ गर्ने गरिन्छ। नवरात्रभर आराधना गरी विजयादशमीका दिन विसर्जन गरिएको प्रसाद (टीका र जमरा) कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट ग्रहण गर्ने परम्परा छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार शास्त्रीय मान्यताअनुसार दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्मै देवीको प्रसादका रूपमा टीका-जमरा लगाउन सकिन्छ।

यसैबीच, नवरात्रको छैटौँ दिन आज बिहानैदेखि देशभरका शक्तिपीठहरूमा भक्तजनको बाक्लो उपस्थिति रहेको छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, इन्द्रायणी, बिजेश्वरीका साथै उपत्यकाबाहिरका पलाञ्चोक भगवती, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, बागलुङ कालिका, विन्ध्यवासिनीलगायत मन्दिरहरूमा पूजा र दर्शन गर्ने श्रद्धालुहरूको घुइँचो लागेको छ।

असोज ३०, २०८३ शुक्रबार ०७:१९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।