अख्तियारमा झुटो उजुरी हाल्दा २ हजार जरिवाना!

अख्तियारमा झुटो उजुरी हाल्दा २ हजार जरिवाना!

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएर असम्बन्धित व्यक्तिलाई दुःख र हैरानी दिएको आरोपमा एक जनालाई जरिवाना गरेको छ।

फर्जी उजुरी दर्ता गराएको आरोपमा आयोगले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका- ५ का दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको हो। अख्तियारका अनुसार एबी राई (आङबाबु राई)को नाममा एउटा उजुरी आएको थियो।

उजुरीमा नेपाल प्रहरीको डीआईजी बताउने व्यक्तिले सहकारीको ऋण भुक्तानीसम्बन्धी विषयमा उजुरी मिलाइदिने भनी ४० लाख मागेको र त्यसमध्ये १५ लाख दिएको उल्लेख थियो।

तर, आङबाबु राईले आफूले आयोगमा कुनै उजुरी नदिएको र त्यसमा भएको हस्ताक्षरसमेत आफ्नो नभएको भनेर सनाखत गरेका थिए। त्यसपछि छानबिनका क्रममा पुन मगरले गत असार १७ गते आयोगसमक्ष बयान दिँदै राईको जानकारी र सहमतिबिना उनकै नामबाट उजुरी दर्ता गराएको स्वीकार गरेका थिए।

अरूको नाम तथा दस्तखत दुरुपयोग गरी झुट्टा उजुरी दिएको देखिएपछि पुन मगरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४९ लगायत प्रचलित कानुनबमोजिम दुई हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको अख्तियारले जनाएको छ।

असोज २९, २०८३ बिहीबार २२:३०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।