आज र भोलि पश्चिमी क्षेत्रमा वर्षा र हिमपात हुने, सतर्क रहन महाशाखाको आग्रह

आज र भोलि पश्चिमी क्षेत्रमा वर्षा र हिमपात हुने, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं : देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज र भोलि विभिन्न भू-भागमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमपातको सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले एक विशेष सूचना जारी गर्दै विशेषगरी देशको पश्चिमी भू-भागमा मौसम प्रतिकूल रहने जनाएको हो।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक-दुई स्थानमा समेत मेघगर्जनसहित हल्का वर्षाको आकलन गरिएको छ।

त्यसैगरी, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ।

पश्चिमी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले कृषि कार्यमा संलग्न किसान तथा सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बाली भित्र्याउने तथा चाडपर्वको समय भएकाले मौसमसम्बन्धी पछिल्लो जानकारी नियमित रूपमा लिएर मात्र कृषि कार्य तथा यात्राको योजना बनाउन सम्बन्धित सबै सरोकारवाला निकाय र नागरिकलाई आग्रह गरिएको छ।

मौसमसम्बन्धी थप जानकारी तथा सोधपुछका लागि महाशाखाको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ।

असोज २९, २०८३ बिहीबार १४:१३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।