घटस्थापनायता काठमाडौंबाट बाहिरिए २ लाख ६२ हजार यात्रु

घटस्थापनायता काठमाडौंबाट बाहिरिए २ लाख ६२ हजार यात्रु

काठमाडौं : नेपालीहरूको महान् चाड बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्नेहरूको सङ्ख्या ह्वात्तै बढेको छ।

घटस्थापनादेखि आजसम्म ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत दुई लाख ६२ हजार ७५३ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा राजधानीमा रहेका नागरिक दशैं मनाउन गाउँ फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकाहरूमा यात्रुको बाक्लो चहलपहल देखिएको छ।

विशेषगरी नागढुङ्गा, फर्पिङ, साँखु, भक्तपुरको जगाती, तीनपिप्ले तथा कान्ति लोकपथ जोड्ने भट्टेडाँडालगायतका नाकाबाट यात्रुहरू सार्वजनिक तथा निजी सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन्।

यात्रुको चाप बढेसँगै सम्भावित दुर्घटना न्यूनीकरण र यात्रा सहजीकरणका लागि ट्राफिक प्रहरीले नाका तथा सडकहरूमा चौबीसै घण्टा निगरानी बढाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले चाडपर्वमा यात्रु ठगिने जोखिम र दुर्घटना हुन नदिन प्रभावकारी जाँचको व्यवस्था मिलाइएको बताए।

“हाम्रो मुख्य उद्देश्य सबैको यात्रा सुरक्षित र सहज बनाउनु हो,” एसएसपी काफ्लेले भने, “लामो दूरीका सवारी चलाउँदा चालकको स्वास्थ्य, सवारीसाधनको अवस्था र गतिमा विशेष ध्यान दिनुपर्छ। यात्रु र चालक दुवै सचेत भए सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ।”

यसैबीच, यातायात व्यवस्था विभागका अनुसार हाल नागढुङ्गा-नौबिसे, मुग्लिन-नारायणगढ, कान्ति लोकपथ र बिपी राजमार्गलगायत उपत्यका जोड्ने प्रमुख सडकखण्डहरूमा दुईतर्फी नै यातायात सञ्चालन भइरहेको छ।

असोज २९, २०८३ बिहीबार १२:४१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।