कांग्रेस महाधिवेशन : आज साँझसम्म सम्पूर्ण मतपरिणाम आइसक्ने

कांग्रेस महाधिवेशन : आज साँझसम्म सम्पूर्ण मतपरिणाम आइसक्ने

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका सबै पदको मतगणना आज साँझसम्म सम्पन्न हुने भएको छ।

निर्वाचन समितिका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणनालाई तीव्रता दिइएको र आजै सम्पूर्ण अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले पदाधिकारीतर्फ अधिकांशको परिणाम आइसकेको र बाँकी रहेका सहमहामन्त्री तथा विभिन्न क्लस्टरका केन्द्रीय सदस्यहरूको गणना अन्तिम चरणमा पुगेको जानकारी दिए।

सार्वजनिक मतपरिणामअनुसार सभापति पदमा गगनकुमार थापा अत्यधिक मतका साथ निर्वाचित भएका छन्। कुल खसेको ७ हजार १३ मत (५४ मत बदर) मध्ये थापाले ९४.६ प्रतिशत अर्थात् ६ हजार ५८४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ५.४ प्रतिशत अर्थात् ३७५ मत मात्र पाए।

उपसभापति र महामन्त्रीको नतिजा
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्। यस्तै, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी (५३.१ प्रतिशत) र इ. मधु आचार्य (३३ प्रतिशत) तथा समावेशी उपसभापतिमा विनोदकुमार चौधरी (२४.८ प्रतिशत) मतसहित निर्वाचित भए।

महामन्त्री खुलातर्फ प्रदीप पौडेल (५९.६ प्रतिशत) र उदयशमशेर राणा (३२.८ प्रतिशत) विजयी भएका छन् भने महिला महामन्त्रीमा डा. डिला सङ्ग्रौला (४४.३ प्रतिशत) मतसहित निर्वाचित भइन्।

केन्द्रीय सदस्य गणना जारी
सहमहामन्त्रीतर्फ खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी, महिलामा प्रतिमा गौतम, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा तथा पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित भइसकेका छन्। अन्य क्लस्टरका सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको भने मतगणना जारी छ।

गत असोज १८ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते मतदान भएको थियो। सभापतिको मतपरिणाम २४ गते बिहानै सार्वजनिक गरिए पनि मतपत्र धेरै भएका कारण बाँकी पदको गणनामा केही ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ।

असोज २९, २०८३ बिहीबार ११:३२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।