‘आ बाट आमा २’ लाई ‘पीजी’ सर्टिफिकेट

‘आ बाट आमा २’ लाई ‘पीजी’ सर्टिफिकेट

काठमाडौं : दशैंको छेको पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आ बाट आमा २’ले सेन्सर बोर्डबाट ‘पीजी’ (पेरेन्टल गाइडेन्स) प्रमाणपत्र पाएको छ।

केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई ‘पीजी’ सर्टिफिकेट दिएसँगै अब १६ वर्षमुनिका दर्शकले यो फिल्म हेर्न अभिभावकको साथ लिनुपर्नेछ।

चन्द्र पन्तको निर्देशनमा बनेको यो फिल्म आगामी असोज ३० गते (शुक्रबार) देखि देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आउँदै छ।

फिल्ममा चर्चित अभिनेत्री विपना थापासँगै अभिनेता पल शाह र अभिनेत्री मलिका महतको मुख्य भूमिका रहेका छ। यसका अलावा रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्कालगायत कलाकारहरूको पनि अभिनय छ।

पारिवारिक सम्बन्ध, प्रेम र आमा-सन्तानबीचको भावनात्मक संवेदनालाई पर्दामा उतारेको फिल्मको ट्रेलर रिलिज भएको २४ घण्टामै ३७ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ भने दशैं लक्षित गीत ‘क्या दामी देखिया’ ले ६ दिनमै ४३ लाख भ्युज कटाएको छ।

यसअघि सार्वजनिक डान्सिङ नम्बर ‘अचेल किन कान्छी’ ले ६४ लाखभन्दा बढी भ्युज पाएर सामाजिक सञ्जालमा ट्रेन्डिङ बनाइसकेको छ।

चन्द्र पन्त र रोशन भट्टको संयुक्त लेखन रहेको फिल्मको संवाद रोशनले नै तयार पारेका हुन्। नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको कोरियोग्राफी तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको यस फिल्मलाई काठमाडौँ उपत्यका तथा मोफसलमा ‘आरआर फिल्मस्’ले वितरण गर्दैछ।

असोज २९, २०८३ बिहीबार ०९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।