गड्डाचौकी नाकाबाट नेपाल भित्रिनेलाई एचआईभी र कोभिडसहित ६ रोगको अनिवार्य परीक्षण
कञ्चनपुर : दशैं-तिहार मनाउन भारतबाट घर फर्किनेहरूको चाप बढेसँगै गड्डाचौकीमा विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन स्वास्थ्य परीक्षणलाई तीव्रता दिइएको छ।
सीमा नाकास्थित हेल्थ डेस्कमा मलेरिया, क्षयरोग (टिबी), एचआईभी, कोभिड-१९, डेङ्गी र स्क्रब टाइफस गरी ६ प्रकारका सङ्क्रामक रोगको परीक्षण भइरहेको छ।
स्वास्थ्य कार्यालयका अनुसार भारतका महामारी फैलिएका क्षेत्रबाट आएका तथा ज्वरो र अन्य लक्षण देखिएका शंकास्पद यात्रुको प्राथमिकताका साथ परीक्षण गर्ने गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले सीमामै रोग पहिचान गरी समुदायमा सङ्क्रमण फैलिन नदिन परीक्षण अनिवार्य गरिएको बताए।
‘सङ्क्रमण पुष्टि भए स्थानीय अस्पतालमै निःशुल्क उपचारको व्यवस्था मिलाएका छौँ,’ भट्टले भने, ‘टाढाका जिल्ला जाने यात्रुको हकमा भने सम्बन्धित जिल्ला अस्पतालसँग समन्वय गरी उपचारको प्रबन्ध गरिन्छ।’
कार्यालयका अनुसार असोज महिनामा मात्रै गड्डाचौकीमा चार हजार ७०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणका क्रममा दुई जनामा क्षयरोग देखिएको र अन्यमा भने कुनै सङ्क्रमण नपाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।
यता प्रहरीको तथ्याङ्कअनुसार अहिले गड्डाचौकी नाका हुँदै दैनिक करिब दुई हजार नेपाली स्वदेश फर्किरहेका छन्। रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली चाडपर्वका लागि घर फर्किन थालेपछि सीमामा चहलपहल बढेको हो।
यात्रुको चापसँगै सुरक्षा र यात्रा सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमा क्षेत्रमा निगरानी बढाएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्कसहित जिल्लाका आठ स्थानमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको जानकारी दिए।
चाडपर्वका बेला सीमा क्षेत्रमा हुनसक्ने ठगी, लुटपाट तथा आपराधिक क्रियाकलाप न्यूनीकरण गरी सुरक्षित यात्रा सुनिश्चित गर्न सुरक्षा व्यवस्था चुस्त बनाइएको उनको भनाइ छ।
असोज २९, २०८३ बिहीबार ०८:२२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।