४८ वर्ष, अर्बौं लगानी : अझै अधुरै लुम्बिनीको सपना
बुटवल : बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वस्तरीय आध्यात्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित सुरु गरिएको गुरुयोजना बजेट अभावका कारण अझै अधुरै छ।
अर्बौं रुपैयाँका ठेक्का सम्झौता भए पनि निर्माणको दायित्व भुक्तानी गर्न पर्याप्त रकम उपलब्ध हुन सकेको छैन। दोस्रो चरणका काम पनि बजेट निकासाको पर्खाइमा छन्।
झन्डै पाँच दशक बितिसक्दा पनि गुरुयोजना पूरा नहुनुमा आर्थिक अभावसँगै कमजोर समन्वय, कार्यान्वयनमा ढिलाइ र योजनाको मर्मविपरीत बनेका संरचना पनि जिम्मेवार देखिएका छन्।
लुम्बिनी विकास कोषले पहिलो चरणमा तीन अर्ब ६० करोड ९७ लाख रुपैयाँको ठेक्का लगाएको थियो।
तर सम्झौताबमोजिमको रकम भुक्तानी गर्न बजेट नपुग्दा निर्माण कार्य प्रभावित भएको छ। दोस्रो चरणमा दुई अर्ब ८९ करोड ९० लाख रुपैयाँको ठेक्का सम्झौता भए पनि बजेट निकासाको निर्णय नहुँदा काम अघि बढ्न सकेको छैन।
कोषका लेखा अधिकृत भीम बस्नेतका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पहिलो चरणको ठेक्काको दायित्व भुक्तानीका लागि विनियोजित ४१ करोड नौ लाख रुपैयाँ पर्याप्त भएन।
अझै ६० करोड रुपैयाँ अपुग रहेको उनले बताए। दोस्रो चरणको काम सुरु गर्न आवश्यक बजेट पनि सुनिश्चित नभएकाले गुरुयोजना सम्पन्न गर्ने लक्ष्य फेरि अन्योलमा परेको उनको भनाइ छ।
२०७८ वैशाखमा अर्थ मन्त्रालयले सात अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो। सोही आधारमा कोषले निर्माण प्रक्रिया अघि बढाएको हो। तर स्रोत सुनिश्चित भएको रकम र दायित्व भुक्तानीका लागि उपलब्ध बजेटबीच तालमेल नमिल्दा आयोजना कार्यान्वयनमा समस्या देखिएको छ।
४८ वर्षअघिको सपना अझै अधुरो
लुम्बिनीको योजनाबद्ध विकासको पहल संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तले सन् १९६७ मा बुद्ध जन्मस्थल भ्रमण गरेपछि सुरु भएको थियो।
लुम्बिनीको अवस्था देखेपछि उनले विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन पहल गरेका थिए। त्यसपछि जापानी वास्तुकलाविद् प्रा. केन्जो टाङ्गेलाई गुरुयोजना तयार गर्ने जिम्मेवारी दिइयो।
टाङ्गेले करिब छ वर्ष लगाएर तयार पारेको गुरुयोजना सन् १९७८ मा स्वीकृत भयो। बुद्ध जन्मस्थलको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व संरक्षण गर्दै शान्त, व्यवस्थित र आध्यात्मिक वातावरणसहितको अन्तर्राष्ट्रिय गन्तव्य बनाउनु यसको मूल उद्देश्य थियो।
योजनालाई १७ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर सन् १९८५ र १९९५ का चरणगत समयसीमा गुज्रिँदा पनि गुरुयोजना पूर्ण हुन सकेन।
गुरुयोजनाले लुम्बिनीलाई पवित्र उद्यान, अन्तर्राष्ट्रिय विहार क्षेत्र र नयाँ लुम्बिनी गाउँ गरी तीन मुख्य क्षेत्रमा विभाजन गरेको छ। यी क्षेत्रलाई केन्द्रीय नहर, पैदलमार्ग, खुला स्थान र व्यवस्थित पूर्वाधारमार्फत जोड्ने परिकल्पना गरिएको छ।
उद्देश्य भवन र सडक बनाउनु मात्र नभई आगन्तुकले जन्मस्थलसम्म पुग्दा शान्ति र आध्यात्मिकताको अनुभूति गर्न सक्ने वातावरण तयार गर्नु पनि थियो। पछिल्लो समय गुरुयोजनाको ८८ प्रतिशत काम सम्पन्न भएको कोषको भनाइ छ।
पवित्र उद्यान र विहार क्षेत्र विकसित, नयाँ लुम्बिनी गाउँ अधुरै
गुरुयोजनाअन्तर्गत अहिलेसम्म सबैभन्दा बढी काम पवित्र उद्यान क्षेत्रमा भएको छ।
मायादेवी मन्दिर, अशोक स्तम्भ, प्राचीन पुरातात्त्विक अवशेष र पवित्र पोखरी रहेको क्षेत्र व्यवस्थित गरिएको छ। भू-दृश्य व्यवस्थापन, केन्द्रीय नहर, उत्तर र दक्षिणका पोखरी तथा आसपासका केही हरियाली क्षेत्रको विकास भइसकेको छ। कर्मचारी आवाससम्बन्धी संरचना पनि बनेका छन्।
अन्तर्राष्ट्रिय विहार क्षेत्रमा विभिन्न देशका बौद्ध परम्परा र वास्तुकला झल्किने विहार निर्माण भएका छन्। केन्द्रीय नहरको पूर्वतर्फ थेरवाद र पश्चिमतर्फ महायान परम्परासँग सम्बन्धित विहार छन्।
श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, कम्बोडिया, चीन, जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी लगायत देशका विहारले लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र वास्तुकलाको साझा स्थल बनाएका छन्।
तर तेस्रो क्षेत्र नयाँ लुम्बिनी गाउँमा धेरै काम बाँकी छन्। यहाँ बनाउने भनिएको ४२० सिट क्षमताको उ थान्त सभागृह र छ वटा ठूला दुईतले गोलाकार भवन निर्माण भएका छैनन्। हडहवा नदीको व्यवस्थापन पूरा भएको छैन। प्राथमिक स्वास्थ्य केन्द्र, स्मृतिचिह्न बिक्री पसल, बसपार्क, विद्यालय र रेस्टुरेन्टजस्ता सुविधा पनि अपूरा छन्।
तीर्थयात्री तथा पर्यटकका लागि आवश्यक आवास, ध्यान गर्ने स्थान र धार्मिक पाठ तथा साधनाका लागि छुट्टै सुविधाको पर्याप्त विकास हुन सकेको छैन। फोहोर व्यवस्थापन प्रणाली, पानीको ट्याङ्की र वितरण सञ्जालजस्ता आधारभूत पूर्वाधार पनि बाँकी छन्।
लुम्बिनीको वास्तु पहिचान झल्काउन बनाइएको स्तम्भयुक्त संरचना तयार भए पनि सञ्चालनमा आउन सकेको छैन। सडक कालोपत्रे, सेवा सडक, ढल निकास र विद्युतीकरणका केही काम भने अघि बढिरहेका छन्।
गुरुयोजनाको मर्मविपरीत संरचना बनेको आरोप
कार्यान्वयनमा ढिलाइसँगै गुरुयोजनाको मूल अवधारणाविपरीत संरचना बनेको विषय पनि विवादमा छ।
गुरुयोजनाले पवित्र उद्यानको प्राकृतिक वातावरण, ऐतिहासिक महत्त्व र शान्त परिवेशलाई प्राथमिकता दिएको थियो। तर योजनामा उल्लेख नभएका स्थानमा कालोपत्रे सडक, ठूला पक्की पुल र अन्य संरचना बनाइएको भन्दै आलोचना भइरहेको छ।
लुम्बिनी बचाउ अभियानका संयोजक रामविकास चौधरीले गुरुयोजनामा नपरेका स्थानमा समेत भौतिक संरचना बनाइएको बताए। आधुनिक संरचनाको अनियन्त्रित विस्तारले लुम्बिनीको मौलिक स्वरूप र शान्त वातावरणमा असर पारेको उनको भनाइ छ।
लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव ज्ञानिन राईले पनि गुरुयोजनाको मर्मविपरीत काम भएको र लामो समय बितिसक्दा पनि आयोजना पूरा हुन नसकेको स्वीकार गरे। गुरुयोजनालाई कसरी तार्किक निष्कर्षमा पुर्याउने भन्नेबारे गम्भीर छलफल भइरहेको उनले बताए।
विश्व सम्पदा सूचीमा रहेको क्षेत्रको विकास गर्दा प्रत्येक संरचना गुरुयोजनाको अवधारणा, पुरातात्त्विक संरक्षण र वातावरणीय आवश्यकतासँग मेल खानुपर्ने सरोकारवालाको भनाइ छ।
पर्यटक आगमन बढ्यो, तर महामारीअघिको अवस्था फर्किएन
गुरुयोजनाको ढिलाइको प्रभाव लुम्बिनीको पर्यटनमा पनि देखिन्छ। पर्यटक आगमन बढेको तथ्याङ्कले सम्भावना देखाए पनि पर्यटकको सङ्ख्या बढ्नु, उनीहरूको बसाइ लम्बिनु र स्थानीय व्यवसायले आर्थिक लाभ लिनु फरक विषय हुन्।
लुम्बिनी विकास कोषका अनुसार सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म सात लाख ९२ हजार १८८ पर्यटकले लुम्बिनी भ्रमण गरे। अघिल्लो वर्षको सोही अवधिमा सात लाख ४१ हजार ५७८ पर्यटक आएका थिए। यसअनुसार कुल पर्यटक आगमन ६.८३ प्रतिशतले बढेको छ।
लुम्बिनी आउने पर्यटकमध्ये आन्तरिक पर्यटकको हिस्सा सबैभन्दा ठूलो छ। यस वर्षको पहिलो नौ महिनामा पाँच लाख ४७ हजार ८८१ नेपाली पर्यटक लुम्बिनी पुगे, गत वर्ष यही अवधिमा चार लाख ८२ हजार ६२६ आएका थिए। भारतीय पर्यटक पनि एक लाख ८६ हजार ४४२ बाट बढेर एक लाख ९७ हजार ५८२ पुगेका छन्।
तेस्रो मुलुकका पर्यटकको सङ्ख्या भने कोभिड महामारीअघिको अवस्थामा फर्किन सकेको छैन। यस वर्षको पहिलो नौ महिनामा ८५ हजार २४४ तेस्रो मुलुकका पर्यटक आए, जुन सन् २०१९ को सोही अवधिको एक लाख नौ हजार ८९६ भन्दा २४ हजार ६५२ कम हो।
यद्यपि गत वर्षको सोही अवधिका ७२ हजार ५१० को तुलनामा यो १७.५६ प्रतिशतले बढी हो। यसले अन्तर्राष्ट्रिय आगमनमा सुधार देखाए पनि पुरानै स्तरमा फर्कन थप प्रयास आवश्यक रहेको सङ्केत गर्छ।
तेस्रो मुलुकबाट आउनेमध्ये श्रीलङ्काका ३२ हजार ४२७ सबैभन्दा धेरै छन्। म्यानमारका १५ हजार ७२२, चीनका आठ हजार ६३८ र थाइल्यान्डका आठ हजार ४९५ पर्यटकले भ्रमण गरेका छन्।
पर्यटकलाई रोक्ने सुविधा खै?
पर्यटक आगमन बढे पनि बसाइ लम्ब्याउन नसक्दा पर्यटन व्यवसायले अपेक्षित लाभ लिन सकेको छैन। बुद्ध जन्मस्थल र मायादेवी मन्दिरको दर्शनपछि धेरै आन्तरिक पर्यटक सोही दिन फर्कन्छन्। त्यसैले सुविधासम्पन्न होटल सञ्चालनमा भए पनि कोठा सधैँ भरिँदैनन् भन्ने होटल व्यवसायीको गुनासो छ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष माधव खनालका अनुसार पर्यटकलाई एक रातभन्दा बढी बस्न प्रेरित गर्ने गतिविधि र आकर्षण पर्याप्त छैनन्।
धार्मिक तथा पुरातात्त्विक स्थलको अवलोकनमा मात्र सीमित नराखी ध्यान, बौद्ध दर्शन अध्ययन, सांस्कृतिक कार्यक्रम र आसपासका पर्यटकीय गन्तव्यसँग जोड्न सके बसाइ लम्ब्याउन सकिने उनले बताए। त्यसका लागि व्यवस्थित यातायात, गुणस्तरीय सेवा र पर्यटकमैत्री वातावरण पनि आवश्यक रहेको उनको भनाइ छ।
असोज २९, २०८३ बिहीबार ०८:०८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।