जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

सुर्खेत : जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सुर्खेतबाट जुनीचाँदे जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बोलेरो जिप बिहान करिब २ बजे जुनीचाँदे गाउँपालिका-२ र ३ को सिमाना गेरेखेतस्थित भित्री सडकबाट करिब ३०० मिटर तल खसेको हो।

दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका-९ कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनीचाँदे-३ स्यालाकी ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा मृतक बिपनाका श्रीमान् दिलबहादुर भण्डारी, उनीहरूका चार वर्षीय छोरा शिशिर भण्डारी र स्थानीय ५० वर्षीया सितला टमटा घाइते भएका छन्।

घाइते तीनै जनाको अवस्था मध्यम रहेको र उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भइरहेको डीएसपी पुरीले बताए।

असोज २९, २०८३ बिहीबार ०७:४४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।