लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण अहिले हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भेगका एक-दुई स्थानमा पनि वर्षा र हिमपातको सम्भावना छ।

यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति हिमाली भूभागमा साधारणतया बदली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईमा भने मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा देशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

असोज २९, २०८३ बिहीबार ०७:४०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।