प्रधानमन्त्रीको सचिवालयको नाममा अध्यागमनको महानिर्देशकसँग मागियो गोप्य जानकारी, नम्बर खुल्यो स्वास्थ्य सेवा विभागको

प्रधानमन्त्रीको सचिवालयको नाममा अध्यागमनको महानिर्देशकसँग मागियो गोप्य जानकारी, नम्बर खुल्यो स्वास्थ्य सेवा विभागको

काठमाडौँ : प्रधानमन्त्री कार्यालयको अनुसन्धान टोली भन्दै अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई मंगलबार र बुधवार फरक-फरक फोन नम्बरबाट गोप्य सूचना मागियो। फोन गर्नेहरूले विदेशी लगानीकर्ताबारे महत्वपूर्ण जानकारी माग्दै “सो जानकारी सम्माननीय(प्रधानमन्त्री) लाई दिनुपर्ने बताए।

तर महानिर्देशक तिवारीले उनीहरूलाई सो सूचना दिनुको साटो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखलाई जानकारी दिए।

“एक जना मान्छेले प्रधानमन्त्रीको सचिवालयबाट हो भनेर फोन गर्यो”, अध्यागमनका महानिर्देशक तिवारीले उकेरासँग भने, “शंका लागेको हुनाले त्यसलाई समात्न प्रहरीलाई भनेँ।”

तिवारीका अनुसार उनले अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कालाई घटनाको विषयमा खबर गरेका थिए। त्यसपछि प्रहरीले उनलाई सो नम्बर स्वास्थ्य सेवा विभागको भएको जानकारी दिएको थियो।

महानिर्देशकलाई प्रधानमन्त्री कार्यालयको सचिवालयमा काम गर्ने व्यक्ति भन्दै फोन गरेर महत्वपूर्ण सूचना माग्नेहरूबारे खोजी गर्न प्रहरी स्वास्थ्य सेवा विभाग पुगेको खुल्यो। उनीहरू विभागमा रहेको क्लोज सर्किट टेलिभिजनको फुटेज माग्न आएका थिए। तर उनीहरू सादा पोशाकमा रहेकाले कर्मचारीले पत्र मागे। त्यसपछि प्रहरी टोली पत्र बोकेर गएका थिए।

 यो घटनाबारे बुझ्न उकेराले एसएसपी सन्तोष खड्कासँग सम्पर्क गर्दा उनले यस विषयमा आफूलाई थाहै नभएको दाबी गरे। तर उकेराले अध्यागमन र स्वास्थ्य सेवा विभाग दुवैतिरबाट यस्तो घटना भएको पुष्टि गर्यो।

स्वास्थ्य सेवा विभागका एक जानकार अधिकारीका अनुसार विभागको उपचारात्मक महाशाखाको निर्देशकको कोठा अगाडि हेलमेट, मास्क र चस्मा लगाएर आएका एक व्यक्तिले ‘मलाई समस्या पर्यो, म फोन युज गर्न सक्छु’ भनेपछि कर्मचारीले समस्या परेको होला भनेर फोन गर्न दिएको बताए।

ती व्यक्तिले फोन गरेको केही समयपछि विभागमा सादा पोसाकका प्रहरी पुगेपछि मात्र घटनाबारे जानकारी पाएको ती अधिकारीले बताए।

दुई पटक फोन गरेर अपरिचितले तर्साएपछि...

 बुधवार अपरिचित व्यक्तिले अध्यागमनका महानिर्देशकलाई ‘घुम्दै अपरेसनको सिलसिलामा स्वास्थ्य सेवा विभागमा आएका छौँ’ भनेर फोन गरेका थिए।  महानिर्देशक तिवारीका अनुसार ती व्यक्तिले फोन गरेर ‘कुनै विदेशी लगानीकर्ताको बारेमा अलिकति हेर्न पर्यो, हामी यसको गोप्य फिल्डमा छौँ’’ भनेका थिए।

उनलाई अपरिचित व्यक्तिले मंगलबार पनि फोन गरेका थिए। महानिर्देशक तिवारीका अनुसार ती अपरिचित व्यक्तिले मंगलबार फोन गरेकै शैलीमा बुधवार फोन गरेपछि शंका लागेर उनले प्रहरीलाई जानकारी गराएका थिए। फोन गर्ने व्यक्तिले आफ्नो नाम ‘भुवन’ भनेको र प्रधानमन्त्री कार्यालयबाट कसले पठाएको, नाम, थर र पद र जिम्मेवारी जस्ता विवरण सोधखोज गरेपछि फोन गर्ने व्यक्ति अल्मलिएका थिए।

उनले ती व्यक्तिको  मोबाइल नम्बर माग्दा ‘सरले हामीलाई नै केरकार गर्न लाग्नुभयो। हामीले सम्माननीयज्यूकहाँ त्यही रिपोर्ट गर्नुपर्छ’ भनेको महानिर्देशक तिवारीले जानकारी दिए। त्यसपछि उनले प्रहरीलाई खबर गरेको देखिन्छ।

असोज २८, २०८३ बुधबार २३:१४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।