रारा ‘मुडफ्रेस’ कार्यक्रम सार्वजनिक भएसँगै पर्यटन बोर्डका पदाधिकारीलाई मन्त्रीका स्वकीयले मन्त्रालयमै 'धम्क्याए'
काठमाडौं : पर्यटन बोर्डका बोर्डमा रहेका निर्देशकहरुलाई बोलाएर पर्यटनमन्त्री खडकराज पौडेलको प्रमुख स्वकीय सचिव आरयन जयसवालले बोर्ड नै खारेज गरिदिने धम्की दिएको खुलेको छ। पर्यटन बोर्डले सबै खर्च ब्यहोर्नेगरी मुगुको रारा घुम्न गएकोबारे उकेराले मंगलबार प्रमाणसहित समाचार प्रकाशित गरेपछि जयसवालले बोर्डका सबै निर्देशकहरूलाई बुधवार दिउस मन्त्रालयमा बोलाएका थिए।
जानकारस्रोतका अनुसार १ बजेतिर मन्त्रालयमा पुगेका निर्देशकहरूलाई उनले उकेरामा प्रकाशित समाचारको विषयमा केरकार गर्दै “तपाईँहरूले नै समाचार दिएको त होला नि” भन्दै धम्क्याउन सुरु गरेका थिए। उनले मन्त्रालयकाहरु बोर्डको खर्चमा घुम्न जान नपाउने हो भने बोर्डका अन्य पदाधिकारी पनि जान पाइँदैन भन्दै धम्क्याएका थिए।*
छलफलमा बोर्डबाट हिकमतसिंह ऐर, सन्तोष खनाल, सुनिल शर्मा, लक्ष्मण गौतम लगायतकाहरु सहभागी थिए। बैठकबारे जानकारस्रोतका अनुसार जयसवालले बोर्ड नै खारेज गर्ने अनि सबैको पद गुमेपछि अन्य नियुक्त गर्ने भन्दै धम्क्याएका थिए।
के हो घटना ?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ‘गनेश’ को सचिवालयमा रहेका प्रमुख स्वकीय सचिव आरयन जयसवाल र स्वकीय सचिव (कर्मचारीतर्फ) समिक शर्मा अनधिकृत रूपमा नेपाल पर्यटन बोर्डको खर्चमा रारा घुमेर फर्किएका थिए।
उकेराले उनीहरूको भ्रमण आदेश फेला पार्यो जसमा पर्यटन सचिव मुकुन्द प्रसाद निरौलाले रारा ताल प्रवर्धन सम्बन्धी कार्यक्रमको बहानामा यी दुवैको खर्च पर्यटन बोर्डले ब्यहोर्न भनेर पत्र पठाएका थिए।
त्यसमा मन्त्री पौडेलसँगै मन्त्रालयका सचिव निरौलासँगै मन्त्रीका दुवै स्वकीय सचिव सहभागी थिए। पत्रमा प्रस्ट २०८३ असोज २१ गते देखि २६ गते सम्म “नेपाल पर्यटन बोर्डको रारा ताल प्रवर्द्धन सम्बन्धी कार्यक्रम” हुने र त्यसमा मन्त्री पौडेल र सचिव निरौला समेत सहभागी हुने भन्दै दुई स्वकीयको सबै खर्च भने नेपाल पर्यटन पर्यटन बोर्डबाट व्यहोर्ने उल्लेख छ।
टोलीमा मन्त्री र सचिवसहित ११ जना थिए। निजी सचिव समिक शर्मा र प्रमुख स्वकीय सचिव आरयन जयसवाल पर्यटन बोर्डलाई सबै खर्च भराएर मुगुको रारा घुमेर फर्किए। उकेराले पाएको घुमघामको तस्बिरमा मन्त्रीको सचिवालयकी अप्सना चौलागाईं पनि सहभागी देखिइन्।
योसँगै मन्त्री पौडेलको स्वकीय सचिव जयसवालले निजामती कर्मचारीले प्रयोग गर्न सक्ने अधिकार आफैँ प्रयोग गर्दै मन्त्रालय अन्तर्गतका विभागहरूलाई निर्देशनात्मक पत्र पठाएको विषय पनि उकेराले पत्रसहित सार्वजनिक गरेको थियो।
उकेरामा मंगलबार समाचार प्रकाशित भएपछि बुधवार मन्त्री पौडेलले समाचारमाथि प्रतिक्रिया जनाउँदै आफू मुड फ्रेसका लागि नगई अनुगमनका लागि गएको र अनधिकृत रूपमा आफ्नो सचिवालयका कसैले खर्च गरेको भए छानबिन गरेर खर्च उनीहरूबाटै भराउने दाबी गरेका थिए।
उकेराको सम्पर्कमा आएका मन्त्री पौडेलले त्यही दाबी दोहोर्याएका थिए। तर मन्त्रालयमा भने बुधवारको दृश्य भएको बदमासी अनुसार छानबिन र संलग्नमाथि कार्वाही भन्दा पनि बोर्डका पदाधिकारी बोलाउने धम्क्याइएको खुल्यो।
*मन्त्री पौडेल बैठकमा संलग्न नरहेको खुलेकाले संशोधन गरिएको छ।
असोज २८, २०८३ बुधबार २२:२१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।