कलंकी खसीबजारमा काकाको कुटपिटबाट भतिजको मृत्यु, चार जना नियन्त्रणमा
काठमाडौं : काठमाडौंको कलंकीस्थित खसीबजारमा आफ्नै काकाको कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ।
आपसी विवादका क्रममा काका रूपेश पाख्रिनको कुटपिटबाट गम्भीर घाइते भएका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-३ का रोशन पाख्रिनको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार बुधबार बिहान करिब ४ देखि ५ बजेको समयमा खसीबजारमा काका र भतिजबीच विवाद भएको थियो।
झडपमा गम्भीर घाइते भएका रोशनलाई उपचारका लागि तत्काल कलंकीस्थित शहीद मेमोरियल अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटनालगत्तै प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले मुख्य आरोपित रूपेशसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले घटनाको पुष्टि गर्दै उकेरासँग भने, “नाताले उनीहरू काका-भतिज पर्ने खुलेको छ। आज बिहान विवाद हुँदा कुटाकुट भएको रहेछ। के विषयलाई लिएर विवाद भएको हो भन्ने विषय अझै खुलिसकेको छैन। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।’
असोज २८, २०८३ बुधबार १४:२८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।