भारतमा ‘कक्रोच जनता पार्टी’का दुई नेता पक्राउ, पाँच दिन हिरासतमा

भारतमा ‘कक्रोच जनता पार्टी’का दुई नेता पक्राउ, पाँच दिन हिरासतमा

एजेन्सी : भारतमा चुनावी सुधारको माग गर्दै प्रदर्शन गरिरहेको युवाहरूको समूह ‘कक्रोच जनता पार्टी’ (सिजेपी)का दुई शीर्ष नेतालाई प्रहरीले पक्राउ गरी पाँच दिनका लागि न्यायिक हिरासतमा पठाएको छ।

दिल्लीको ऐतिहासिक आन्दोलन स्थल ‘जन्तरमन्तर’मा निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको आरोपमा सौरभ दास र आशुतोष रन्कालाई अदालतले हिरासतमा पठाएको हो।

मंगलबार यी दुई अभियन्ताले बन्द गरिएको मुख्य गेट र प्रहरीको ब्यारिकेड नाघेर जन्तरमन्तरमा प्रवेश गरेका थिए। जन्तरमन्तर दशकौंदेखि विरोध प्रदर्शन गर्ने मुख्य थलो भए पनि दिल्ली प्रहरीले हालै त्यसलाई प्रदर्शन स्थलको सूचीबाट हटाएको थियो।

प्रहरीले उनीहरूमाथि निषेधाज्ञा तोडेको, अनाधिकृत रूपमा प्रवेश गरेको र सरकारी काममा बाधा पुर्याएको आरोप लगाएको छ।

अदालतले दास र रन्कालाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ भने उनीहरूसँगै पक्राउ परेका अर्का अभियन्ता अजिंक्य शिन्देलाई धरौटीमा रिहा गरेको छ।

किन भइरहेको छ आन्दोलन ?
नयाँ पुस्ताका युवाहरूले भारतको चुनावी प्रणालीमा धाँधली भएको आरोप लगाउँदै केही दिनदेखि आन्दोलन गरिरहेका छन्।

उनीहरूले निर्वाचन सुधारको माग गर्दै भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागिरहेका छन्। यद्यपि, निर्वाचन आयोगले धाँधलीको आरोपलाई अस्वीकार गर्दै आएको छ।

प्रहरीले जन्तरमन्तरमा प्रदर्शन गर्न रोक लगाउँदै रामलीला मैदान, बुरारी र सीबीडी मैदानमा जान भनेको थियो।

तर, आन्दोलनकारीहरूले भने सरकारले जनताको आवाज दबाउन र प्रदर्शनलाई ओझेलमा पार्न शहरको मुख्य केन्द्रबाट टाढा पठाउन खोजेको आरोप लगाएका छन्।

प्रदर्शन रोक्न प्रशासनले दिल्लीका विभिन्न मेट्रो स्टेसन बन्द गर्नुका साथै हजारौं प्रहरी परिचालन गरेको थियो। शनिबारदेखि यता प्रहरीले पत्रकार र महिलासहित हजारौँ प्रदर्शनकारीलाई धरपकड गरिसकेको छ।

के हो ‘कक्रोच जनता पार्टी’ ?
‘कक्रोच जनता पार्टी’ कुनै दर्ता भएको राजनीतिक दल नभई युवाहरूको एउटा दबाब समूह हो।

गत मे महिनामा अदालतमा भएको एक सुनुवाइका क्रममा भारतका एक न्यायाधीशले बेरोजगार युवाहरूलाई ‘कक्रोच’ (साङ्लो) सँग तुलना गरेका थिए। त्यसैको व्यङ्ग्यका रूपमा युवाहरूले सामाजिक सञ्जालबाट यो समूह सुरु गरेका थिए।

पछि यो समूह बेरोजगारी, परीक्षाको प्रश्नपत्र चुहावट र सरकारी जवाफदेहिता विरुद्ध लड्ने सशक्त अभियान बन्यो।

यसअघि परीक्षामा भएको अनियमितताविरुद्ध यही समूहले गरेको कडा आन्दोलनका कारण तत्कालीन केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा समेत दिनुपरेको थियो। हाल यो समूहले देशव्यापी चुनावी सुधारको मुद्दालाई अगाडि बढाइरहेको छ।

असोज २८, २०८३ बुधबार १३:०२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।