सामाजिक सञ्जालमा अश्लील शब्द बोलेर पक्राउ परेका ‘झापाली ब्रो’ आइन्दा नदोहोर्‍याउने सर्तमा रिहा

सामाजिक सञ्जालमा अश्लील शब्द बोलेर पक्राउ परेका ‘झापाली ब्रो’ आइन्दा नदोहोर्‍याउने सर्तमा रिहा

झापा : सामाजिक सञ्जालमा भद्दा तथा अश्लील शब्द प्रयोग गरी समाजमा घृणा फैलाएको आरोपमा ‘झापाली ब्रो/झापालिस’ नामले परिचित मनिष पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको छ।

जिल्ला प्रहरी कार्यालय झापाले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि आइन्दा त्यस्ता गतिविधि नगर्ने प्रतिबद्धता जनाएपछि आफन्तको जिम्मा लगाएको हो।

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत अश्लीलता झल्किने तथा समाजमा घृणा फैलाउने खालका भद्दा अभिव्यक्ति दिएको भन्दै पाण्डेविरुद्ध मौखिक गुनासो प्राप्त भएको थियो।

सोही गुनासोका आधारमा झापाको मेचीनगर नगरपालिका-६ बाट उनलाई असोज २६ गते आइतबार बेलुकी ७:५० बजे नियन्त्रणमा लिइएको थियो।

जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गर्दा पाण्डेले आफूले सामाजिक सञ्जालमा त्यस्ता शब्द प्रयोग गरेकोमा पश्चात्ताप व्यक्त गरेका थिए। उनले अब आइन्दा सामाजिक सञ्जालमा अश्लीलता झल्काउने र भद्दा शब्दहरू प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका छन्।

प्रतिबद्धतापछि उनलाई सोही रात ११:५१ बजे आफन्तको जिम्मा लगाएर छाडिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

असोज २८, २०८३ बुधबार ११:२८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।