त्रिशूली बजारमा तिहारअघि मात्रै बेलिब्रिज बन्ने, कात्तिक २१ सम्म निर्माण सक्ने लक्ष्य
त्रिशूली : गत भदौ १० गते त्रिशूली नदीमा आएको बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको त्रिशूली बजार जोड्ने सडक सञ्जाल दशैंअघि सञ्चालनमा नआउने भएको छ।
विदुर नगरपालिकाले ढुङ्गे-पावरहाउस जोड्ने गरी सुरु गरेको बेलिब्रिज निर्माण कार्य आगामी कात्तिक २१ गते मात्र सम्पन्न हुने कार्यतालिका रहेकाले सवारी आवागमनका लागि तिहारसम्मै कुर्नुपर्ने भएको हो।
यद्यपि, पैदलयात्रुको सहजताका लागि मर्मत गरिएको झोलुङ्गे पुल भने आज साँझदेखि नै सञ्चालनमा आउने नुवाकोट निर्माण व्यवसायी महासंघले जनाएको छ।
कात्तिक २१ सम्म सक्ने सम्झौता
विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठका अनुसार बेलिब्रिज निर्माणका लागि असोज २३ गते नगरपालिका र निर्माण व्यवसायीबीच औपचारिक सम्झौता भएको हो। सम्झौता अनुसार आगामी कात्तिक २१ गतेभित्र निर्माण सम्पन्न गरी पुल हस्तान्तरण गर्नुपर्ने समयसीमा तोकिएको छ।
विदुर नगरपालिका-१ स्थित ढुङ्गेबाट पावरहाउस जोड्ने ७० मिटर लामो उक्त बेलिब्रिज निर्माणको जिम्मा ‘सिद्धकाली निर्माण सेवा, रामेछाप’ ले पाएको छ।
बेलिब्रिजका आवश्यक सामग्री सडक विभाग, ललितपुरले उपलब्ध गराएको हो भने बाँकी सम्पूर्ण पूर्वाधार निर्माणको खर्च विदुर नगरपालिकाले आफ्नै स्रोतबाट ब्यहोरेको नगरप्रमुखको सचिवालयले जनाएको छ।
आधा भागमा ह्युमपाइप, मुख्य भागमा बेलिब्रिज
नदीको चौडाइ ठूलो भएकाले र बर्खायाममा समेत बाढीले क्षति नपुर्याउने गरी प्राविधिक डिजाइन तयार गरिएको छ।
डिभिजन सडक कार्यालय, सडक विभाग र नेपाली सेनाको प्राविधिक सुपरिवेक्षण तथा स्वीकृत डिजाइन अनुसार नदीको बगर क्षेत्रमा ह्युमपाइप बिछ्याएर पीसीसी ढलान गरिनेछ भने नदीको मुख्य बहाव रहेको ७० मिटर भागमा बेलिब्रिज राखिनेछ।
यसरी बगर क्षेत्रमा ह्युमपाइप राखेर माथिबाट सडक बनाउँदा भविष्यमा आउने बाढी सहजै निकास हुने र अर्को वर्ष पक्की पुल नबनुन्जेलसम्म पनि यो संरचना दिगो रहने नगरपालिकाको विश्वास छ।
दशैं र रातको समयमा पनि काम नरोकिने
करिब डेढ महिनादेखि यातायात ठप्प हुँदा सर्वसाधारणले भोग्नुपरेको सास्तीलाई ध्यानमा राखी दशैंको बिदामा समेत निर्माण कार्य निरन्तर जारी राखिएको छ। निर्माण कम्पनीले कामलाई तीव्रता दिन दुई सिफ्ट (दिन र रात) मा जनशक्ति परिचालन गरेको छ।
हाल कार्यस्थलमा ह्युमपाइपका लागि बेस निर्माण (पीसीसी र प्लम), तारजाली भर्ने, मिक्सर र जेनेरेटरमार्फत ढलान गर्ने तथा गिटी-बालुवा व्यवस्थापन गर्ने काम तीव्र गतिमा भइरहेको छ।
हेटौंडाबाट बेलिब्रिजका फलामे संरचनाहरू ६ वटा ट्रेलर गाडीमा लोड गरी निर्माणस्थलतर्फ ल्याइँदै गरेको र आजै साँझसम्म आइपुग्ने नगरपालिकाले जनाएको छ। कार्यस्थलमा नगरपालिका र निर्माण कम्पनी दुवैतर्फका इन्जिनियरहरूलाई ‘स्ट्यान्डबाइ’ खटाइएको छ।
पैदलयात्रुलाई भने राहत
गाडी चल्ने बेलिब्रिज बन्न तिहारसम्म कुर्नुपर्ने भए पनि स्थानीयवासी, विद्यार्थी र बिरामीहरूका लागि भने आजैदेखि पैदल हिँड्न झोलुङ्गे पुल खुला गरिने छ। यसले तत्कालका लागि बजार आवतजावत गर्ने सर्वसाधारणलाई ठूलो राहत मिल्ने विश्वास छ।
पहिला काठमाडौंबाट नुवाकोटको त्रिशूली बजार जान दुई घण्टा लाग्नेमा अहिले धादिङको गल्छी भएर जाँदा ६ घण्टाभन्दा बढी समय लाग्ने भएको छ।
असोज २८, २०८३ बुधबार १०:५०:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।