छोरा विदेशियो, बुहारीलाई पहिरोले लग्यो; कुशको शव बनाएर किरिया बस्दैछन् दुई नाति

छोरा विदेशियो, बुहारीलाई पहिरोले लग्यो; कुशको शव बनाएर किरिया बस्दैछन् दुई नाति

छेपारे : म्याग्दीको बेनी नगरपालिका-३ छेपारेका १६ वर्षीय पुजन र १४ वर्षीय जीवन विश्वकर्माको आँखा अझै ओभाएको छैन।

गत असोज ११ गते बिहान घरसँगै पहिरोमा पुरिएर बेपत्ता भएकी आमा कुमारी वली विश्वकर्माको सम्झनाले दुई दाजुभाइलाई दिनरात पिरोल्छ। १६ दिनसम्मको खोजीपछि पनि आमा नभेटिएपछि असोज २६ मा कुशको शव बनाएर दाहसंस्कार गरियो। अहिले दुवै दाजुभाइ आमाको किरियामा बसिरहेका छन्।

परिवारको उज्ज्वल भविष्यको सपना बोकेर लामो प्रयासपछि दुई महिनाअघि मात्रै ग्रिस पुगेका कुमारीका श्रीमान् ओमबहादुर विकले पत्नीको अन्तिम अनुहारसमेत देख्न पाएनन्।

कलिलो उमेरमै आमाको काख गुमाएका पुजन र जीवनको भविष्यमा परेको यो बज्रपातले परिवार अहिले शोकमा छ। यी दाजुभाइ बेनीको कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयमा पढ्छन्।

कुमारीका ससुरा जीतबहादुर र सासू जीतमायाले पहिरोले घरबाससँगै परिवारको मुख्य सहारा खोसेको बताए।

“बुहारीसँगै घर र दुईवटा गोठ पहिरोले बगायो,” जीतबहादुर दम्पतीले भने, “घर धानेकी बुहारी रहिनन्। वर्षौंको मिहिनेत र पसिनाले बनाएको घरगोठ पनि रहेन।”

सामान सार्दासार्दै खस्यो पहिरो
असोज ८ गतेदेखिको अविरल वर्षाका कारण छेपारे बस्तीमाथिको पाखोबाट पहिरो खस्न थालेको थियो। बेनीमा बस्दै आएकी कुमारी १० गते साँझ छोराहरूसँगै गाउँ पुगेकी थिइन्।

असोज ११ गते बिहान घरका सामान सुरक्षित ठाउँमा सार्ने क्रममा अचानक माथिबाट ठूलो पहिरो खस्यो। सामान जोगाउने प्रयासमा रहेकी कुमारी पहिरोमै पुरिइन् भने दुई छोरा र सासू जीतमायाले भागेर ज्यान जोगाए।

“सानो पहिरो खस्न थालेपछि अघिल्लो दिनदेखि नै सामान सारिरहेका थियौँ,” आफन्तसमेत रहेका छिमेकी जगबहादुर विकले भने, “१६ दिनसम्म भेटिन्छिन् कि भनेर दिनहुँजसो खोज्यौँ। नभेटिएपछि धार्मिक विधिअनुसार कुशको शव बनाएर दाहसंस्कार गर्यौँ।”

बस्ती नै जोखिममा
पहिरोले कुमारीको परिवारको मात्र होइन, छिमेकी मनमाया घर्तीको घरगोठ पनि नामनिसान नरहने गरी बगाएको छ। कुमारीकी दिदी मनिषा सुनारको घर आधा भत्किएर बस्न नहुने भएको छ।

“घर नभए पनि पछि बनाउन सकिन्छ,” मनिषाले भनिन्, “तर सहारा र साथ दिने बहिनी नै गुमाउनुपर्दा मन थाम्न सकेकी छैन।” भिनाजु विदेशमा रहेकाले अब दुवै छोराहरूको अभिभावकत्व आफैँले लिएर पढाउने मनिषाको योजना छ।

पहिरोका कारण जगबहादुर छन्त्याल र जीतबहादुर विकको परिवार पनि विस्थापित भएको छ।

वडाध्यक्ष पदम पुनका अनुसार बस्तीमाथिको पाखोमा नयाँ पहिरो सुरु भएको छ। विस्थापित परिवारलाई हाल छिमेकीको खाली घरमा राखिएको र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सरकारी नीतिअनुसार पहल गरिने उनले बताए।

पहिरोले घरगोठसँगै सडक, खेतीयोग्य जमिन, सुन्तला बगैँचा र खानेपानीका पाइपलाइनमा समेत ठूलो क्षति पुर्याएको छ। स्थानीय बासिन्दा विनोद विश्वकर्माका अनुसार पहिरो तत्काल नियन्त्रण गर्न नसके सिङ्गो बस्ती नै विस्थापित हुने अवस्था छ।

“सुन्तला खेती विस्तार गरेर समृद्धितर्फ अघि बढिरहेको गाउँको यात्रामा पहिरो बाधक बनेको छ,” उनले भने, “पहिरो नियन्त्रण र बस्ती संरक्षण गर्न नसके अहिले बसोबास गरिरहेका १०-१५ घरपरिवारले पनि गाउँ छाड्नुपर्ने अवस्था आउन सक्छ।”

छेपारेमा भत्किएका घर र पुरिएको जमिन फेरि ब्युँतिएला, तर पुजन र जीवनले गुमाएको आमाको ममता र रिक्तता कहिल्यै पूर्ति हुने छैन। गाउँलेका मनमा अहिले यही पीडासँगै पहिरोको त्रास र पुनःस्थापनाको अनिश्चितता बाँकी छ।

सम्पादनसहित प्रकाशित राससको सामग्री

असोज २८, २०८३ बुधबार ०९:५७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।