रारा भ्रमणलाई ‘मुड फ्रेस’ भनिएकोमा पर्यटनमन्त्रीको आपत्ति, भने- ‘अनधिकृत खर्च भएको भए टोलीबाटै असुलउपर गर्छु’
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेश’ ले नेपाल पर्यटन बोर्डको खर्चमा सचिवालयका सहयोगीसहित रारा भ्रमणमा गएको विषयमा प्रष्टीकरण दिएका छन्।
उकेरामा समाचार प्रकाशित भएपछि मन्त्री पौडेलले प्रतिक्रिया पठाउँदै भ्रमण विशुद्ध विकास आयोजना र विमानस्थलहरूको अध्ययन-अनुगमनका लागि भएको दाबी गरेका छन्।
साथै, उक्त भ्रमणमा यदि अनधिकृत बजेट शीर्षकबाट खर्च भएको पाइएमा भ्रमण टोलीबाटै सम्पूर्ण रकम असुलउपर गराउने र जिम्मेवारमाथि कारबाही गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन्।
यसअघि मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले स्वीकृत गरेको भ्रमण आदेश अनुसार, रारा ताल प्रवर्द्धन कार्यक्रमको बहानामा मन्त्री पौडेल, सचिव निरौला, प्रमुख स्वकीय सचिव आरयन जयसवाल, स्वकीय सचिव समिक शर्मा र सल्लाहकार अप्सरा चौलागाईंसहित ११ जनाको टोली पर्यटन बोर्डको बजेटमा रारा पुगेको तथ्य उकेराले सार्वजनिक गरेको थियो।
नीतिगत तथा प्राविधिक भूमिका नभएका स्वकीय सचिवालयका व्यक्तिहरूलाई समेत बोर्डको अनुसन्धान तथा प्रवर्द्धन खर्च भराएर ‘मुड फ्रेस’ गराउन लगिएको विषय समाचारमा उठाइएको थियो।
‘क्यानको निमन्त्रणामा गएको थिएँ, बोर्डको कार्यक्रमबारे सुर्खेत पुगेपछि मात्र थाहा भयो’
समाचार सार्वजनिक भएपछि मन्त्री पौडेलले आफू नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमन्त्रणामा प्राविधिक टोलीसहित दाङको टरीगाउँ विमानस्थलको धावनमार्ग (रनवे) विस्तारको सम्भाव्यता अध्ययन गर्न गएको दाबी गरेका छन्।
“त्यसै क्रममा सुर्खेत, कालिकोट र जुम्लाका विमानस्थलहरूको अवस्था, सम्भाव्यता तथा चिरा परेको भनिएको रारा विमानस्थलको स्थानान्तरणको विकल्पबारे अध्ययन गर्ने उद्देश्य थियो,” मन्त्री पौडेलले भनेका छन्, “सोही समयमा नेपाल पर्यटन बोर्डको कार्यक्रमसमेत रहेको कुरा मलाई सुर्खेत पुगेपछि मात्रै थाहा भएको हो। बोर्डका साथीहरूसँग भेट पनि सुर्खेतमै भएको हो।”
मन्त्री पौडेलले आफ्नो भ्रमणको खर्च क्यानले व्यहोरेको आफ्नो बुझाइ रहेको उल्लेख गर्दै बोर्डका केही कार्यक्रममा सँगै सहभागी भएकाले कुनै स्थानमा खाना तथा खाजा खर्च बोर्डबाट भएको हुन सक्ने र त्यसबारे बुझेर स्पष्ट पार्ने बताएका छन्।
‘यसलाई मुड फ्रेस भनिन्छ भने पटक-पटक गरिरहन्छु’
सचिवालयका सहयोगीहरू घुमाउन सरकारी स्रोतको दोहन गरिएको भन्दै समाचारमा आएको ‘मुड फ्रेस’ शब्दप्रति मन्त्री पौडेलले कडा असन्तुष्टि जनाएका छन्।
“आफ्नो मन्त्रालयअन्तर्गतका कार्यक्रमहरूमा सहभागी हुनु, पर्यटन व्यवसायीहरूसँग छलफल गर्नु, स्थलगत भ्रमणमार्फत नयाँ योजना बनाउनु र जीर्ण विमानस्थलहरूको अनुगमन तथा नयाँ लगानीका सम्भावनाको अध्ययन गर्नु यदि कसैका लागि ‘मुड फ्रेस’ गर्नु हो भने त्यस्तो मुड फ्रेस म पटकपटक गरिरहन्छु,” मन्त्री पौडेलले भनेका छन्, “मन्त्रालयका सचिव तथा प्राविधिक टोलीसहित विकास आयोजना र विमानस्थलहरूको स्थलगत अनुगमनमा जानुलाई ‘मुड फ्रेस’ भनिँदो रहेछ भन्ने मलाई थाहा थिएन।”
उनले आफूलाई रहरले मात्रै घुम्नुहुन्थ्यो भने पछिल्लो ६ महिनामा कोरिया, रुस, भारत, क्यानडा लगायतका देशबाट राज्यकोषमा भार नपर्ने गरी आएका दर्जनौँ निमन्त्रणा स्वीकार्न सक्ने भए पनि ती भ्रमणमा आफू नगई कर्मचारीहरूलाई पठाएको जिकिर गरेका छन्।
‘अनधिकृत खर्च भएको पाइए असुलउपर गर्छु’
सार्वजनिक स्रोतको दुरुपयोगप्रति आफ्नो ‘शून्य सहनशीलता’ रहेको दाबी गर्दै मन्त्री पौडेलले खर्चबारे छानबिन गर्ने बताएका छन्।
उनले भनेका छन्, “यदि उक्त भ्रमणको खर्च अनधिकृत बजेट शीर्षकबाट गरिएको रहेछ भने म भ्रमण टोलीबाट सम्पूर्ण खर्च असुलउपर गर्ने र जिम्मेवार व्यक्तिहरूमाथि नियमानुसार कारबाही गर्नेछु।” उनले मन्त्रीको रूपमा आफ्नो प्राथमिकता भ्रमण गर्नु नभई भ्रमणबाट परिणाम निकाल्नु रहेको समेत बताएका छन्।
के थियो घटना?
उकेरालाई प्राप्त कागजात अनुसार पर्यटन सचिव निरौलाले २०८३ असोज २१ देखि २६ सम्म “नेपाल पर्यटन बोर्डको रारा ताल प्रवर्द्धन सम्बन्धी कार्यक्रम” मा सहभागी हुन भन्दै भ्रमण आदेश स्वीकृत गरेका थिए।
जसमा मन्त्रीका दुवै स्वकीय (जयसवाल र शर्मा) को सम्पूर्ण खर्च बोर्डले व्यहोर्ने स्पष्ट उल्लेख थियो। तर, रारामा न कुनै औपचारिक प्रवर्द्धन कार्यक्रम भयो, न त त्यस्ता कुनै गतिविधि सार्वजनिक गरिए।
उक्त भ्रमणमा करिब ५ देखि ६ लाख रुपैयाँ खर्च भएको बोर्डका कर्मचारीहरूले नै अनौपचारिक रूपमा स्वीकारेका छन्।
यसका साथै मन्त्री पौडेलका प्रमुख स्वकीय सचिव जयसवालले निजामती कर्मचारीको क्षेत्राधिकार मिच्दै मन्त्रालय मातहतका १३ वटा निकायलाई नियमित प्रगति विवरण पठाउन निर्देशन दिँदै फारमसहित पत्र काटेको तथ्य समेत खुलेको थियो, जसलाई पूर्वमुख्यसचिव विमल कोइरालाले गैरकानुनी र पदीय मर्यादा विपरीत भनेका थिए।
असोज २८, २०८३ बुधबार ०८:२५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।