नक्कली कृषि अधिकृत बनेर किसानलाई अनुदानको लोभ देखाई साढे ११ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं : कृषि कार्यक्रममार्फत अनुदान तथा उपकरण उपलब्ध गराइदिने प्रलोभन देखाएर साढे ११ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा बाँकेको डुडुवा गाउँपालिका- ५ बलापुर बस्ने २४ वर्षीय अरविन्द कुमार यादव (वास्तविक नाम नविन यादव) र सल्यानको तत्कालीन कालागाउँ गाविस-७ घर भई हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका-११ बस्ने ३९ वर्षीय कासीराम बुढाथोकी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरूलाई आइतबार (असोज २५) पक्राउ गरिएको हो। पक्राउ परेका दुवै जनालाई दाङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नविन यादवले आफू कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश तुलसीपुर शाखा कार्यालयको प्रशासकीय अधिकृत भएको झुटो परिचय दिएका थिए। उनले 'मकै जोन कृषि कार्यक्रम'मार्फत ट्र्याक्टर, भैँसी पालन तथा गोठ सुधारको योजना ल्याएको भन्दै किसानहरूलाई प्रलोभनमा पारेका थिए।
सोही क्रममा मालिका साइबर फोन-पे र मालिका कम्युनिकेसनका ई-सेवा सञ्चालकसमेत रहेका कासीराम बुढाथोकीको संलग्नतामा दाङको गढवा गाउँपालिका-२ पचहियाका ६० वर्षीय सहजराम अहिरसहित पाँच जनाबाट ११ लाख ५४ हजार रकम ठगी गरेको प्रहरीको भनाइ छ।
पीडितहरूले दिएको जाहेरीका आधारमा फरार रहेका उनीहरू दुवै जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर केसीले जानकारी दिए।
असोज २७, २०८३ मंगलबार २२:५७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।