कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन्। कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत मंगलबार सम्पन्न मतगणनामा खतिवडा र शिवाकोटी विजयी भएका हुन्। 

उक्त पदमा नौ जना प्रतिस्पर्धी थिए। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले खतिवडाले दुई हजार ९१० र शिवाकोटीले दुई हजार १७३ मत प्राप्त गरी विजयी भएको जानकारी दिए।

डिल्लीराम सुवेदीले एक हजार ८५२, देवेन्द्रराज कँडेलले एक हजार ३८१, राजीव ढुङ्गानाले एक हजार २३२, विकास कोइरालाले एक हजार १४४, अमृत अर्यालले ९२१, रमेशप्रसाद धमलाले ७८० र विमलराज क्षेत्रीले २८३ मत प्राप्त गरे।

महिला सहमहामन्त्रीमा गौतम विजयी
महिला सहमहामन्त्री पदमा प्रतिमा गौतम विजयी भएकी छन्। महिला सहमहामन्त्री एक पदका लागि भएको निर्वाचनमा गौतमले पाँच हजार ११६ मत प्राप्त गरी विजयी भएकी हुन्। उनको प्रतिस्पर्धी नानु बास्तोलाले एक हजार ५५४ मत प्राप्त गरिन्।

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित
महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक पाँच हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी हुन्।

उर्मिला थपलियाले तीन हजार ९७०, निमा गिरीले तीन हजार ९०६, कुसुमदेवी थापाले तीन हजार २५०, धनाकुमारी खतिवडाले तीन हजार २३१ मत ल्याएर विजयी भएकी छन्।

यसैगरी, विनिता खड्का, अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापामगर, गङ्गा दाहाल र उमा दाहाल विजयी भएको निर्वाचन समितिले जनाएको छ। महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो।

असोज २७, २०८३ मंगलबार २१:४६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।