दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

महेन्द्रनगर : कञ्चनपुरको दोधारा चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

गत असोजको दोस्रो साता महाकाली नदीमा आएको बाढीले पुलको एउटा पिल्लर भत्किएपछि अहिले आवागमन पूर्ण रूपमा बन्द छ। काठमाडौंबाट सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा आएको प्राविधिक टोलीले पुलको क्षति अध्ययन गरी पुनःनिर्माणमा लाग्ने खर्च विवरणसहितको स्थानीय पूर्वाधार विकास विभागमा बुझाएको छ।

उपमहानिर्देशक अधिकारीका अनुसार बाढीले पुलमा करिब ७ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ भने पुल पुनःनिर्माणका लागि  २० करोड लाग्ने  अनुमान गरिएको छ। 

“सात करोड बराबरको क्षति भएको छ। पुनःनिर्माणमा बीस करोड लाग्ने लाग्ने भनेर प्रतिवेदन नै बनाएर पेस भइसक्यो।” उपमहानिर्देशक अधिकारीले भने, “योजनामा राखेर बजेट विनियोजन भए हामी काम गर्न तयार नै छौँ।”  

उनले महाकालीमा पानीको बहाव कम भएपछि मात्रै पुनःनिर्माण थालनी गर्न सकिने बताए। “पानी सुकेपछि मात्रै सोयल टेष्ट हुने हो”, उनले भने “त्यसका लागि हिउँदमा मात्रै काम थालनी हुनसक्छ।”

उनले बजेट व्यवस्थापन भए पुनःनिर्माण थालिएको एक वर्षमा पुल बनी सक्ने बताए। अध्ययनका क्रममा पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको  प्राविधिक टोलीको भनाइ छ।  

झोलुङ्गे पुलभन्दा अढाइ किलोमिटर उत्तरतर्फ चार लेनको पक्की पुल निर्माण भएकाले दोधारा चादँनीको आवागमन पूर्ण रुपमा प्रभावित भने भएको छैन। यता सुदूरपश्चिम प्रदेश सरकारले दोधारा चादँनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि एक करोड बजेट विनियोजन गरेको छ।

असोज २७, २०८३ मंगलबार १७:४०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।