वैदेशिक रोजगारीका नाममा ८० लाख उठाएर सम्पर्कविहीन भएको आरोपमा चार जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ८० लाख उठाएर सम्पर्कविहीन भएको आरोपमा चार जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भनेर ८० लाख ४८ हजार ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका-४ का २२ वर्षीय दीपक श्रीपाली, ललितपुरको महालक्ष्मी नगरपालिका-५ की ३४ वर्षीया नेहा अधिकारी, पाँचथरको याङवरक गाउँपालिका-६ का ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरि नगरपालिका-६ की ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन्।

प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि टर्की, बेलायत र दक्षिण कोरिया पठाइदिने भनेर विभिन्न व्यक्तिबाट रकम लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार दीपकले टर्की पठाइदिने भन्दै एक पीडितबाट दुई लाख ४८ हजार, नेहाले बेलायत पठाइदिने भनेर ६७ लाख, सुमनले दक्षिण कोरिया पठाइदिने भन्दै छ लाख र सुस्मिताले बेलायत पठाइदिने भन्दै पाँच लाख लिएको आरोप छ।

चारै जनाले गरी ८० लाख ४८ हजार ठगी गरेको आरोप लागेको छ। उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

असोज २७, २०८३ मंगलबार १५:३६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।